कुरा मिल्यो भने तालमेल हुन्छ, मिलेन भने तालमेल हुँदैन, आफू–आफू लड्न पाइन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुरा मिलेन भनेर स्थानीय तहको निर्वाचनमा तालमेल नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले गठबन्धनका दलहरूबीच कुराकानी मिलेन भने आफू–आफू लड्न पाइने बताएका हुन् । उनले पार्टीले गरेको निर्णयलाई परिवारको सदस्यले जस्तै गरेर पूर्ण रुपमा पालना गर्नुपर्ने पनि बताएका छन् ।

‘गठबन्धनको बीचमा देशभरि अहिले छलफल चलिरहेको छ । छलफल चल्दै गर्दा कुराकानी मिल्यो, तालमेल हुन्छ’, थापाले भनेका छन्, ‘कुराकानी मिलेन, तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न पाइन्छ । लड्न पाउनुपर्छ ।’

‘त्यो बेलामा तल । मानौँ काठमाडौं महानगरपालिकाको सभापति यहाँ हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको विषयमा सबैको कुराकानी मिल्यो । यहाँको स्थानीय नेताहरूले ल हुन्छ भन्नुभयो भने हुन्छ’, उनले भने, ‘यहाँको साथीहरूले हुँदैन भनेर भन्दै गर्दा त्योभन्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर निर्णय थोपर्न पाउँदैन । त्यो थोपरेको कुरालाई तल कसैले मान्दा पनि मान्दैन ।’

उनले भने, ‘भुइँमा खसेको टिप्छुभन्दा पोल्टाको पोखिने डर हुन्छ । हामीले पहिला आफ्नो घर सम्हाल्नुपर्छ । आफ्नो घर सम्हालेपछि बल्ल बाहिर सम्हाल्न सकिन्छ ।’

‘अहिले हाम्रो पार्टीभित्रको एकता हो । पार्टीभित्र हामी फरक फरक जिम्मेवारीमा छौँ । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्दा नियम कानूनभित्र रहेर प्रतिस्पर्धा गर्‍यौँ’, उनले भने, ‘जिम्मेवारीमा आइसकेपछि पार्टीको हित केमा छ ? जनताको समर्थन कसलाई छ ? को उम्मेदवार बन्दै गर्दा पार्टीलाई जिताउने अवस्था बन्छ भन्ने कुरा हेरेर निर्णय लिनुपर्छ । पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्नेछ ।’

महामन्त्री थापाले भने, ‘पार्टीले उम्मेदवार टुंगो लगाइसकेपछि, निर्णय गरिसकेपछि, त्यो निर्णयलाई सबैले मानेर हिँड्नुपर्छ । त्यो नियम हो । पार्टीको सदस्य भएर त्यसलाई उल्लंघन गर्छु भन्न पाइँदैन ।’

‘पार्टी छाडेर गएर रुखमा भोट हाल्दैन भन्न पाइन्छ । तर, पार्टीको सदस्य भएर, उम्मेदवारसँग सँगसँगै हिँडेर भोट हाल्दैन भन्न पाइँदैन’, थापाले भने, ‘हामीले नदेखेपनि पशुपतिनाथले देख्नुहुन्छ । उम्मेदवारलाई ढाँट्न सकिन्छ । भगवानलाई कसरी ढाँट्ने ? त्यो बेलामा अन्तरघात भनेको पाप हो ।’

महामन्त्री थापाले भनेका छन्, ‘सभापतिले अस्ती के कुरा भन्नुभयो पार्टीको छलफल हुँदै गर्दा भने पुस ५ गते संसद भङ्ग भइसकेपछाडि त्यो बेलामा मेरो मत वा मेरो इच्छा, पार्टी सभापतिले भन्नुभएको, म त्यो बेला संसद पुनःस्थापना हुँनु हुँदैन तर, अब चुनावमा जानुपर्छ भन्ने थियो । तर, रामचन्द्र पौडेल लगायत बहुसंख्यक केन्द्रीय कार्यसमितिको साथीहरूले होइन, संसद पुनःस्थापना हुने कुरा उचित कुरा हो, पार्टीले संविधानको पक्षमा उभिने भनिसकेपछि मैले मेरो आफ्नो कुरालाई, मेरो मनलाई, मेरो मनमा एउटा कुरा हुँदाहुँदै पनि चित्त बुझाएँ ।’

‘सभापतिले पार्टीको निर्णयलाई माने भनेको जस्तै । यो गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर छदैँछैन । चुनाव अगाडि गर्ने तालमेल भन्ने मेरो आफ्नो मत हो, मत राखेँ’, उनले भने, ‘पार्टीको बहुसंख्यक साथीहरूले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछि पार्टीको त्यो निर्णयलाई मानेको छु, मान्नुपर्छ ।’

‘पार्टीमा आबद्ध भइसकेपछि परिवार भने जस्तै हो यो । परिवारमा बुवा, आमा, छोराछोरी, श्रीमान, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ, यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मत अरुलाई मनाउने कोशिस गर्छौं । मानेनौँ भने पनि परिवारको एउटा निर्णयलाई मानेर हिँड्छौँ । पार्टीको सन्दर्भमा पनि यही कुरा हुने हो’, उनले भनेका छन् ।

‘स्थानीय तहको निर्वाचनका बारेमा पार्टीले एउटा निर्णय गरेको छ । कांग्रेसको विधानको व्यवस्था र पार्टीले गरेको निर्णय भनेकै के हो भने स्थानीय आवश्यक्ता र अवस्था अनुसार हामीलाई ठीक लाग्यो भने हामीले तालमेल गर्ने भनेर भन्यौँ’, उनले भने, ‘त्यसैले अस्ती नेपाली कांग्रेस पार्टी लगायतका दलहरूले बनाएको संयन्त्रले गरेको निर्णय पनि तपाईहरूले हेर्नुभयो भने, कतिपय ठाउँमा यसको बुझाइ गलत ढंगले रहेको छ । त्यसमा स्पष्टसँग के लेखेको छभने– यो तालमेल गर्नका लागि सामान्य आधारहरू हो । त्यो आधारहरू बनाउँदै गर्दा पनि स्पष्ट के भनिएको छभने– आधारहरूमध्येको एउटा आधार भनेको योभन्दा अघिल्लो स्थानीय निर्वाचनमा कसले जित्यो भन्ने आधार हो, त्योसँगसँगै अर्को आधार पनि छ । अहिलेको अवस्थामा कुनै पनि दलको संगठनात्मक अवस्था कस्तो छ ? र, जनाधार कस्तो छ ? भन्ने कुरालाई पनि सँगसँगै राखेर हेर्ने हो ।’

उनले भने, ‘कतिपय जिल्लामा साथीहरूले तालमेल गर्दैनौं भन्नुभएको छ । जिल्लाका साथीहरूले तालमेल गर्दैनौँ भन्ने निर्णयलाई हामीले सम्मान गर्नुपर्छ । तलको साथीहरूले हामी मिलेर जान्छौँ भन्नु हुन्छ भने ठीक छ । यो स्थानीय चुनाव हो । स्थानीय साथीहरूले निर्णय गर्न पाएन भने, माथिबाट थोपरियो भने सबै कुरा बिग्रन्छ ।’

‘मैले केही समय अगाडि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा राखेको कुरा स्मरण गर्छु । राजनीतिक व्यवस्था खास गरी संसदीय व्यवस्थाभित्र दलहरूका बीचमा तालमेल नहुने होइन । तर, हामी जुनखालको तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदैछौँ’, उनले भने, ‘यसले नेपालको लोकतन्त्र स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन कसैलाई पनि राम्रो गर्दैन । यहाँ कुनै पार्टीको मात्रै कुरा छैन ।’

उनले भनेका छन्, ‘स्थानीय निर्वाचन भन्नासाथै आफ्नो स्थानका लागि छान्ने प्रक्रिया हो । निर्वाचनमा त्यसै पनि, मतदाता बलियो हुने, उम्मेदवार कमजोर हुने बेला हो । जनता बलियो हुने पार्टी कमजोर हुने बेला हो । यो सबैभन्दा महत्वपूर्ण चरण पनि हो लोकतन्त्रको, त्यसमाथि स्थानीय निर्वाचन ।’

‘स्थानीय निर्वाचनमा हाम्रो आफ्नो स्थानका बारेमा चर्चा, छलफल, बहस हुनुपर्ने हो । हाम्रो ठाउँ कसरी बनाउने हो भन्नेबारेमा बिचारको प्रतिस्पर्धा हुनुपर्ने हो’, महामन्त्री थापाले भनेका छन् ।

‘कता–कता हाम्रो लागि एउटा अनौठो र कतिपय सन्दर्भमा अमिलोखालको अनुभव भइरहेको छ’, उनले भने, ‘स्थानीय चुनावमा हाम्रो स्थानीय मुद्धाहरूले भन्दा पनि बढि गठबन्धनको विषयले चर्चा पाएको छ ।’

‘हामी नेपाली कांग्रेसभित्र अबद्ध भएको ठूलो परिवारका सदस्य पनि हौँ । यो वर्ष हाम्रो पार्टीका निम्ति पनि राम्रो होस् । हामी सबैको शतप्रयासले हाम्रो पार्टीले लिएका लक्ष्यहरू पूरा हुन् भन्ने कामना गर्छु’, थापाले भनेका छन् ।

कार्यक्रममा बागमती कांग्रेस प्रदेश सांसदीय दलकी सचेतक राधा घले, प्रदेश सांसद नरोत्तम बैद्य, नेता न्होच्छेनारायण श्रेष्ठ, काठमाडौं महानगरपालिकाका सभापति निलकाजी श्रेष्ठ, नेता प्रेमबहादुर खड्का, भीमसेन खत्रीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 April 14, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया