कम्युनिस्टद्वारा तरुण दलका जैमिनी अध्यक्षमाथि सांघातिक आक्रमण, पोखरामा उपचार

काठमाडौं । बाग्लुङ जिल्लामा नेपाल तरुण दल जैमिनी नगर कार्यसमितिका अध्यक्ष लेखबहादुर थापा ‘रोहित’लाई राष्ट्रिय जनमोर्चाका अराजक कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् ।

नेपाली कांग्रेस बाग्लुङका सभापति जितबहादुर शेरचनले विज्ञप्ति जारी गरेर तरुण अध्यक्ष थापालाई कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सभापति शेरचनले भनेका छन्, ‘निन्दनीय घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र कानूनी कारबाही अघि बढाउन नेपाली कांग्रेस बाग्लुङले सरकारसँग माग गर्दछ ।’

‘आततायी घटनाको नेपाली कांग्रेस बाग्लुङ घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आततायीहरूको आक्रमणबाट गम्भीर घाइते भएका थापाको अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।’

जनमोर्चाका अराजक नेता कार्यकर्ताले अध्यक्ष थापालाई आइतबार दिउँसो कुश्मीशेरामा सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए । घाइते थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

जैमिनी नगरपालिका वडा नं. ४ निवासी तरुण अध्यक्ष थापा नेपाली कांग्रेसको गण्डकी प्रदेशको महाधिवेशन प्रतिनिधि पनि हुन् ।

यसैबीच, नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले पनि तरुण अध्यक्ष थापामाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । उनले तरुण दलका नगर अध्यक्ष थापामाथि भएको आक्रमणको निन्दा एवम् भर्त्सना गरेका छन् ।

Published : Wednesday, 2022 January 19, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया