राम थोकरद्वारा राप्रपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राम थोकरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएका छन् ।

थोकर राप्रपाका केन्द्रीय सदस्य पनि हुन् । उनले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पत्रकारहरूलाई जानकारी दिएका छन् ।

नेता थोकरले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछन् । उनले प्रतिनिधिहरूलाई पार्टीमा राम्रो काम गर्ने नेताहरूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

२०७० सालको दोस्रो संविधान निर्वाचनमा मकवानपुर जिल्लाबाट थोकरले उम्मेदवारी दिएका थिए ।

उनको गृहजिल्ला मकवानपुरमा पर्छ । तर, पार्टी संगठन र अन्य कामका लागि काठमाडौंमा बस्दै आएका छन् । पार्टीको काममा गृहजिल्ला मकवानपुरसहितका जिल्लामा जाने गरेका छन् ।

राप्रपाले पूर्वपश्चिम रथयात्रा गरेका बेला थोकरले रथ बनाउन ठूलो सहयोग गरेका थिए । अध्यक्ष कमल थापाको रथयात्राको अभियानलाई त्यस बेला थाकेरले सहयोग गरेका थिए ।

राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीप्रति उनको समान सम्मान छ ।

राप्रपाले लिएको हिन्दूराष्ट्र र राजसंस्थाको राजनीतिक मार्गदर्शन अति नै मन परेको नेता थोकरको भनाइ छ । उनले सानो मुलुक नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने र संघीयता आवश्यक्ता नरहेको बताएका छन् ।

नेताहरूले धमाधम उम्मेदवारीहरू घोषणा गरेका बेला थोकरले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।

राप्रपाको महाधिवेशन मंसिर १५ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।

Published : Saturday, 2021 November 27, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया