कांग्रेसको अधिवेशनमा कसैप्रति गालीगलौज नहोस्, मित्रवत् व्यबहार होस् : डा.महत

जावलाखेल । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट पार्टी र अन्य पार्टीहरू पनि विभाजित भैरहेको समयमा कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले सभापति शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए ।

उनले भने, ‘सभापतिले कम्युनिष्टहरूको गतिविधि मैले हेरिरहेको छ । चुनावमा बहुमत ल्याए । अहँकार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुसी लाद्नु भएन ।’

सभापति देउवा पार्टीमा आफू बहुमतमा भएपनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबुझपूर्ण रहेको बताए ।

सह–महामन्त्री डा.महतले भने, ‘यसपटक झण्डै १० लाख पुगेको छ । युवा पिंडीको ठूलो सहभागिता भएको छ ।’

डा.महतले महाधिवेशनलाई ऐतिहासिक भन्दै महिलाहरूको सहभागिताले उत्साहजनक परिणाम दिने बताए ।

उनले महाधिवेशनको क्रममा भएका आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

‘यो हामीबीचको आन्तरिक प्रतिस्पर्धा हो । जिम्मेवारी कसै न कसैले लिनै पर्दथ्यो’, उनले भने, ‘मतदाताबाट जिम्मेवारी लिने प्रक्रिया अबलम्बन गरिएको मात्र हो ।’

उनले भने, ‘यसलाई अन्तिम लडाइँ ठानेर साथीसाथीबीचमा तिक्तता र रिक्तता नरहोस् । शत्रुवत् व्यवहार नहोस् ।’

‘आम निर्वाचनमा जाँदा आफ्नो पार्टीको साथी अर्को पार्टीको जस्तो र अर्को पार्टीको प्रतिस्पर्धी आफ्नो जस्तो ठान्ने प्रवृत्ति त्याग्नुपर्दछ’, उनले भने, ‘कसैप्रति गालीगलौज नहोस् । मित्रवत् व्यबहार होस् ।’

डा.महतले कांग्रेसले १४औं महाधिवेशनपछि प्रचार संयन्त्रमा भएको कमी कमजोरी सुधार गर्ने बताएका छन् ।

Published : Friday, 2021 November 26, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया