घोक्र्याएर निकालेपछि ललितपुर कांग्रेस बचाउन एक ठाउँमा आएका छौँ : उदयशम्शेर राणा

जवलाखेल । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणाले ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यबाट आफू सबैभन्दा पीडित रहेको बताएका छन् ।

बिहीबार ललिपुतपुर कांग्रेसको सभापतिमा मीनकृष्ण महर्जन र उनको प्यानल घोषणा गर्न आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राणाले साथीभाईलाई तथानाम गाली गरेर पार्टी नचल्ने बताए ।

‘साथीलाई तथानाम गाली गरेर पार्टी चल्दैन । सबैभन्दा धेरै पीडा मैले भोगेको होला’, उनले भने, ‘सभापतिमा मदन अमात्यलाई जिताउन मेरो पनि भूमिका होला । मैले जुन किसिमको अपमान सहनु परेको छ । अरु भएको भए धेरै चाँडो बिद्रोह गरिसक्थे होला ।’

मदन अमात्यले अर्को टिम खडा गरेर सभापतिमा अन्तरघातीलाई अगाडि बढाएको दोस्रो दिन आयोजित कार्यक्रममा नेता राणाले ललितपुर कांग्रेसलाई बचाउने बेला आएको बताए ।

‘हामीले एउटै हेरेका छौँ । ललितपुर कांग्रेसको भविष्य हेरेका छौँ । हामीले व्यक्ति हेरेका छैनौँ’, उनले भने, ‘यो हुनुको कारण ५ वर्षमा जुनकिसिमले ललितपुर जिल्ला अगाडि बढेको छ, ललितपुर जिल्लाका सभापतिले जुन हिसावले संगठन अगाडि बढेको छ, त्यसको विपरित त नभनौँ, त्यसलाई हामीले स्वीकार गर्न सकेनौँ ।’

युवा नेता राणाले भने, ‘सभापति (मदन अमात्य)सँग नजिक भएका धेरै अहिले उपस्थित साथीहरू पनि बाध्यताबस घोक्र्याएर निकालिसकेपछि बाध्य भएर पार्टी जोगाउन अहिले हामी सबैजना एउटै ठाउँमा बसेका छौँ ।’

‘जुन किसिमको व्यवहार, अधिनायकको व्यवहार भाषणमा एउटा कुरा, काममा अर्को कुरा, कार्यकर्तालाई दासको रुपमा हेर्ने, भएभरको साथीहरूलाई गाली गर्ने, एकल निर्णय गर्ने, पार्टीभन्दा व्यक्ति ठूलो हुने, त्यो प्रवृत्ति विपरित अहिले हामीहरू एक ठाउँमा उपस्थित भएका छौँ’, अमात्यप्रति आक्रोश पोख्दै नेता राणाले भनेका छन् ।

मदनबहादुर अमात्यले सभापति हुँदा पार्टीका बैठक राख्न नसकेको उनले बताए । ‘५ वर्षमा जिल्ला कार्यसमितिको मिटिङ जम्मा १० पटक बस्यो’, राणाले भने, ‘अब व्यक्ति होइन, कांग्रेस र कांग्रेसीले यो पार्टी बचाउन जरुरी छ ।’

उनले भने, ‘स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव आउँदैछ । चुनाव जित्नुछ । हामी व्यक्तिवादी भएर बस्यौँ भने अगाडि चल्न सक्दैनौँ । साथीलाई तथानाम गाली गरेर पार्टी चल्दैन ।’

आफूहरूको समूहबाट दुईजना सभापतिका आकांक्षी रहेको भन्दै उनले भने, ‘दुईजना सभापतिका आकांक्षी हुनुहुन्छ । उहाँहरूका बीच एउटा सहमति भएको छ । पदाधिकारी र सदस्यहरूमा साझा घोषणा गरेर जाने सहमति भएको छ ।’

Published : Thursday, 2021 November 25, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया