सिन्धुपाल्चोकमा पौडेल समूहको चुरीफुरी समाप्त, देउवा समूहको शानदार जित

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत सबै १२ पालिकाहरूको नतिजा आएको छ ।

सभापति शेरबहादुर देउवा समूहले सिन्धुपाल्चोकका ९ वटा पालिकामा क्लिन स्विप गरेको छ । एउटा नगरपालिका र एउटा गाउँपालिकामा सहमति भएको छ । पाँचपोखरी गाउँपालिकामा मात्रै रामचन्द्र पौडेल समूहले एकलौटी जितेको छ ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ मा पौडेल समूह छिर्न पनि सकेन । ७ वटै पालिकामा देउवा समूहले एकलौटी जितेको छ ।

क्षेत्र नं. २ मा पनि देउवा समूहले अधिकांश पालिका जितेको छ । पौडेल समूहले स्पष्ट जितेको गाउँपालिका भनेको पाँचपोखरी मात्रै हो ।

देउवा समूहलाई जिताउन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कमाण्ड सम्हालेका थिए । नेता बस्नेतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिन आग्रह गरेका छन् ।

उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि एकमत भएर महाधिवेशनमा जुट्न अनुरोध गरेका छन् । नेता बस्नेत देउवा निकट मान्छिन् ।

भोटेकोशी गाउँपालिकाको सभापतिमा देवीबहादुर बुढाथोकी, बाह्रबिसे नगरपालिकामा शम्भु तिमिल्सिना, त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ, लिशंखुपाखर गाउँपालिकामा जेठा लामा ‘जोगलाल’, सुनकोशी गाउँपालिकामा रुपकाजी लामा, बलेफी गाउँपालिकामा रामकुमार लामा, जुगल गाउँपालिकामा सगुन श्रेष्ठ विजयी भएका छन् ।

मेलम्ची नगरपालिकामा बसन्त गुरुङ, हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी, इन्द्रावती गाउँपालिकामा जीवन थापा मगर, चौतारा सँगाचोकगढीमा इन्द्रलोचन धिताल, पाँचपोखरी गाउँपालिकामा प्रेम तामाङ निर्वाचित भएका छन् ।

पाँचपोखरी गाउँपालिकाबाट निर्वाचित तामाङ नेता रामचन्द्र पौडेल समूहका हुन् । इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा सभापति शेरबहादुर देउवा र पौडेल समूहबीच सहमतिमा सभापति र पदाधिकारीहरू चयन गरिएको छ ।

Published : Tuesday, 2021 November 23, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया