एउटा शेरबहादुर देउवा मात्रै रुपान्तरण भएर हुँदैन, हामी सबै नैतिकवान हुनुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका तत्कालीन संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नैतिकता र रुपान्तरण आफूले होइन अरुले गरिओस् भन्ने चाहनाले गर्दा समस्याहरू हुने गरेको बताएका छन् ।

काठमाडौं– २ को कांग्रेसको अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पाण्डेले नैतिकता आफूले पालना नगर्ने, अरुले मात्रै नैतिकता पालना गरोस् भन्ने चाहना सबैमा रहेको बताए । उनले नयाँ र पुरानो पुस्तालाई सँगै मिलाएर जाँदा कांग्रेस बलियो हुने बताएका छन् ।

‘कांग्रेसलाई नयाँ उमङ्ग, जोश र जाँगरका साथ नयाँ सिराबाट हाकौँ भन्ने उत्साह सबैलाई छ’, उनले भने, ‘उत्साहका साथ आएको नयाँ पुस्तालाई निरासा बनायौँ भने हामीबाट टाडा बस्न सक्छ ।’

‘अहिलेको आवस्यक्ता भनेको पुस्तान्तरण मात्रै होइन पार्टीभित्र रुपान्तरणको जरुरत छ । नेतृत्वमा समायोजन गर्न जरुरी छ’, नेता पाण्डेले भनेका छन् ।

‘अहिलेको पुस्ता र पहिलो पुस्ताको समायोजनको तरुरत छ । रुपान्तरण शेरबहादुर देउवा भइदेओस भन्ने हाम्रो चाहना छ । उहाँको कार्यशैली परिवर्तन भइदिओस भन्ने हाम्रो चाहना छ । रुपान्तरण रामचन्द्र पौडेलमा पनि हुनुपर्छ । उहाँबाट पनि चल्दैन । हामीले देखिरहेका छौँ’, कांग्रेस नेता पाण्डेले भनेका छन् ।

‘हामी आफै रुपान्तरण हुन तयार छैनौँ । पार्टीको एकजना रुपान्तरण र परिवर्तन भइदिएकै कारण यो समग्र पार्टी रुपान्तरण गर्न सक्छौँ त ? मलाई लाग्छ सक्दैनौँ’, उनले भने, ‘अब यहाँ परिवर्तनको जरुरत छ, रुपान्तरणको जरुरत छभने हामी प्रत्येक कार्यकर्ताहरू मनभित्रबाट प्रतिज्ञा गरौँ, हिजोका दिनमा हामीबाट जे जति गल्ती कमजोरी भएका छन् त्यसलाई हामी परिवर्तन गर्छौ त्यसलाई हामी रुपान्तरण गर्छौं भन्नुपर्छ ।’

उनले भनेका छन्, ‘शेरबहादुर देउवाले पनि रुपान्तरण गर्नुपर्छ । सुरेन्द्र पाण्डे आफूले पनि रुपान्तरण गर्न तयार हुनुपर्‍यो । हामीले अरुलाई औँला ठड्याएर मात्रै अरुलाई रुपान्तरण हुनुपर्‍यो भनेर कुरा गर्ने आफू परिवर्तन हुन नचाहने हो भने समग्र पार्टीलाई रुपान्तरण हाम्रो संकल्प, चाहना सफल हुँदैन ।’

‘एउटा शेरबहादुर देउवाको कारणले मात्रै यो अधिवेशन सरेको त होइन होला ? हामी सबैलाई थाहा छ । नैतिकताको कुरा हामी गर्छौं । त्यो नैतिकवान अरु बनिदेओस् भन्ने हामी चाहन्छौँ’, उनले भने, ‘हामी आफू भने नैतिकवान बन्न चाहँदैनौँ ।’

Published : Monday, 2021 November 22, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया