गृहमन्त्री खाणद्वारा प्रहरीको उच्च प्रशंसा, सिमानाको अवाञ्छित हर्कत रोक्न निर्देशन

धनुषा । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उनले नागरिकलाई सेवा प्रदान गरी राहत दिन सुरक्षा निकाय सक्रिय रहेको उल्लेख गरेका छन् ।

सीमामा हुने विभिन्न अपराध तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न संवेदनशील हुन सुरक्षा निकायहरूलाई उनले निर्देशन दिएका छन् ।

गोष्ठीमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गरी सुरक्षा निकायले सराहनीय काम गरेको उल्लेख गरेका छन् ।

उनले सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण, गृहसचिव टेकनारायण पाण्डे र २ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव हरिप्रसाद मैनालीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामूलक कार्यक्रम एवम् त्यसको प्रभावकारिताको बारेमा जानकारी दिएका छन् ।

प्रहरी संगठन र प्रहरी सेवालाई थप राम्रो बनाई संगठनलाई उचाइँमा लैजान नयाँ प्रविधिको प्रयोग लगायतका प्रयास गरिएको उनले बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फडिन्द्रमणि पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गोष्ठीमा २ नम्बर प्रदेशअन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाअन्तर्गत शान्ति सुरक्षाको अवस्था, भौतिक श्रोतसाधन, सम्भावित सुरक्षा चुनौतीहरू एवं सुरक्षा क्षेत्रका विविध गतिविधिहरूका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

Published : Tuesday, 2021 November 9, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया