कांग्रेसको साथ पाएपछि पाण्डेको भाग्य चम्कियो, ६ महिनापछि बानियाँको पालो

काठमाडौं । नेपाली कांग्रेससहितका दलहरूले समर्थन गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएका हुन् । विश्वासको मत पाएसँगै पाण्डेले ६ महिना मुख्यमन्त्री बनेर सरकार चलाउनेछन् ।

६ महिनापछि पूर्वसहमतिअनुसार कांग्रेसलाई मुख्यमन्त्री पद दिनुपर्नेछ । त्यसपछि कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नेछन् । बानियाँले नै प्रदेश सभाको निर्वाचन पनि गराउनेछन् ।

पाण्डेले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ५९ मत परेको थियो ।

प्रस्तावको विपक्षमा ४३ र तटस्थमा २ मत परेको थियो । मतदानमा १०४ जना सांसद उपस्थित भएका थिए ।

बागमती प्रदेश सभाको आकार ११० सदस्यीय भएपनि एमाले सांसद् पशुपति चौलागाइँको निधन भएपछि अहिले १०९ जना मात्रै सांसद छन् ।

एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका तर्फबाट स्वतन्त्र सांसद एक जना छन् ।

मतदानमा एमाले र विवेकशील साझाले विपक्षमा मत दिएका थिए । नेमकिपा तटस्थ बसेको थियो ।

कात्तिक १० गते एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

एमालेभित्रको आन्तरिक विवाद र खड्गप्रसाद ओलीको अहँकारका कारण बागमती प्रदेशमा एमालेको सरकार गर्ल्याम गुर्लुम ढलेको छ ।

कांग्रेससँग पङ्गा लिँदा ओली र एमालेलाई ठूलो नोक्सान भएको छ ।

Published : Monday, 2021 November 8, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया