स्व.हमाललाई कांग्रेस र तरुणहरूले कहिल्यै भुल्ने छैनन् : युवा नेता तिमिल्सिना

कोहलपुर । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले तरुण नेता स्व.विकास हमाललाई पार्टीले सधैँ स्मरण गर्ने बताएका छन् ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका– २ मा बिहीबार स्व.हमालको १३औँ दिनको पून्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले पार्टीका लागि सधैँ अग्रभागमा रहँदै आएका हमालको निधनले कांग्रेसलाई ठूलो क्षति भएको जनाएका हुन् । उनले कम्युनिस्टहरूसँग सधैँ बैचारिक संघर्षमा लागेका कारण अधिनायकवादीहरूको निशानामा हमाल रहेको बताए ।

स्व.हमाललाई कांग्रेसले सधैँ स्मरण गर्नेभन्दै नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका तिमिल्सिनाले तरुणहरूका लागि हमालको योगदान झन् स्मरणीय रहेको बताए ।

कांग्रेसको जनजागरण अभियान चलिरहेका बेला बाँके कांग्रेसकी सभापति किरण कोइरालामाथि एमालेका अरिँगालहरूले आक्रमण गर्दा विकास हमालले रोक्ने प्रयास गरेका थिए । सोही आक्रमणमा घाइते भएका हमालको दुई वर्षपछि उपचारकै क्रममा निधन भएको थियो ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा क्षेत्रीय सभापति माधवराम खत्री, महासमिति सदस्य भानु भट्टराई, कांग्रेस नेतृ एवम् उप–मेयर सञ्जु चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 October 28, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया