कांग्रेसको महाधिवेशनलाई मिलेर उत्सापूर्वक सफल बनाऔँ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पार्टीको महाधिवेशनलाई सबैले मिलेर उत्साहपूर्वक सम्पन्न गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको टोखानगर नगरपालिकाको वडा नं. ८ कार्यसमितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले अधिवेशनको नयाँ कार्यतालिका आएको भन्दै समयमा अधिवेशन हुने बताए ।

उनले कार्यकर्ता चुनावको तयारीमा बस्न निर्देशन समेत दिएका छन् । डा.महतले छिटो निर्वाचन भयो भने कांग्रेसले जित्ने बताएको वडा नं. ८ का सभापति उत्तम थापाले जानकारी दिए ।

कम्युनिस्टले झुठको खेती गर्ने गरेको बताएका सह–महामन्त्री डा.महतले नभएका कुरालाई पनि कम्युनिस्टले भएको जसरी प्रचार गरेर जनता झुक्काउने गरेको बताए । उनले कांग्रेसले गरेका कामलाई पनि जनतासमक्ष प्रचार प्रसार गर्न नसकेको बताएका छन् ।

नेता डा.महतले कांग्रेसका पार्टी कार्यालय सबै ठाउँमा खोल्नुपर्ने बताए । उनले पार्टी कार्यालय हुँदा कांग्रेसको संगठन मजबुत हुने उल्लेख गरेका छन् । उनले पार्टीको अधिवेशनबाट युवाहरू नेतृत्वमा आएको भन्दै शुभकामना दिएका छन् ।

कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले पार्टीलाई बलियो बनाउन मिलेर जानुपर्ने बताएका छन् । उनले मिलेर जाँदा नै कांग्रेसले निर्वाचन जित्ने बताए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका प्रधानले पार्टीको आन्तरिक अधिवेशनलाई चुनाव जितहारको रुपमा लिन नहुने बताएका छन् । उनले काठमाडौं कांग्रेसका सभापति सबुजकृष्ण बानियाँलाई आफूले काम गर्न सहयोग गरेको भन्दै भागबण्डा नखोजेको बताए । भागबण्डाको संस्कारले कांग्रेस कमजोर हुने बताए ।

कार्यक्रममा कांग्रेस नेतृ एवम् काठमाडौं महानगरकी उप–मेयर हरिप्रभाव खड्गी, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेता हरिहर अधिकारी, प्रदेश ‘ख’ का सभापति चन्द्रराज न्यौपाने, प्रदेश सांसद जीवन डंगोल, नगर सभापति ओमकृष्ण विमली, विष्णुभक्त तिमिल्सिना, जनकराज श्रेष्ठ, विद्या घिमिरे, रजनी थापा, फूलमाया विश्वकर्मा, तारकेश्वर नगरका सभापति कृष्णहरि महर्जनलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 October 28, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया