आफ्नै घर रहेको नगरमा घनश्याम भुसालको पत्तासाफ, एमालेभित्र पतन शुरु

बुटवल । एमालेका उप–महासचिव एवम् प्रतिनिधि सभाका सांसद घनश्याम भुसालको समूह आफ्नै नगर अधिवेशनमा पराजित भएको छ ।

रुपन्देही जिल्लास्थित एमालेको सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका भुसालका तीन जना उम्मेदवारहरू नराम्रोसँग पराजित भएका हुन् । भुसालको निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर पनि गुमेको छ ।

नगर अधिवेशनबाट अध्यक्षमा उप–महासचिव विष्णु पौडेल समूहका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् ।

भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ मत खसेकोमा थापाले १६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि पौडल पक्षका अर्जुनकुमार गिरी विजयी भएका छन । उनले १८७ मत प्राप्त गर्दा भूषाल पक्षकी लक्ष्मी केसीले ३४ मत प्राप्त गरिन् ।

सचिवमा पौडल पक्षकै नारायणप्रसाद भण्डारीले भूषाल पक्षका मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरेका छन् । भण्डारी माओवादी केन्द्रबाट एमालेमा लागेका हुन् ।

उप–महासचिव भुसालको गृहनगर तिलोत्तमामा पनि भुसाल समूह पराजित भएको छ । उप–महासचिव पौडेल समूहका तामनाथ पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका दाबेदार भुसाल समूहका उम्मेदवार सुरेन्द्र श्री पराजित भएका छन् । सुरेन्द्र नेकपा विवाददेखि एमाले विभाजनपछि पनि भुसालको समूहमा थिए ।

सुरेन्द्र एमालेको क्षेत्रीय कमिटी सचिव र हाल नगरपालिकाको कार्यपालिका सदस्य एवं प्रवक्ता थिए ।

नगर अध्यक्षमा निर्वाचित पाण्डे वडा नंं. १ का अध्यक्ष हुन् । अध्यक्षकै दाबेदार रहेका नेत्र बनलाई उपाध्यक्ष र मीनप्रसाद पोखरेललाई सचिव बनाइएको छ । दुवैजना पौडेल समूहका हुन् ।

एमालेभित्र धेरै चुरीफुरी गर्दै आएका भुसाल आफ्नै घर रहेको नगरमा समेत आफ्नो समूहलाई जिताउन नसकेर चकित परेका छन् । एमालेभित्र भुसालको पतन रुपन्देहीबाट शुरु भएको छ ।

चीन निकट मानिने उप–महासचिव भुसालले माधव नेपाललाई छाड्नेवित्तिकै उनको दशा लाग्न शुरु भएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भुसाललाई ठेगान लगाउन शुरु गरिसकेका छन् । पार्टीभित्र ओलीले भुसाललाई रुचाउँदैनन् । भुसाल पार्टीभित्र अल्टर नेताका रुपमा परिचित छन् ।

ठूला गफ र झुठको खेती गरेर राजनीति गर्दै आएका भुसाल कृषि मन्त्री बनेका थिए । त्यस बेला भुसालले काम गर्न नसकेर असफल बनेका थिए ।

Published : Thursday, 2021 October 28, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया