कांग्रेसलाई ठूलो पार्टी बनाउन जतिसक्दो छिटो निर्वाचनमा जानुपर्छ : नेता भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मुलुकलाई निकास दिन ताजा जनादेश अपरिहार्य भएकोले जतिसक्दो छिटो निर्वाचनमा जानुपर्ने बताएका छन् ।

तनहुँ जिल्लाको भानु नगरपालिका–१३ स्थित सिद्धबाबा युवा क्लवद्वारा आइतबार आयोजित सिद्धबाबा युवा कपको समापन समारोहलाई सम्बोधन गर्दै भण्डारीले छिटो निर्वाचन गर्नुपर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले कांग्रेसका कार्यकर्ताहरूलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउन छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्ने उनले बताए ।

उनले कम्युनिष्टहरूले चुनाव जितेपनि देश र जनताको हितमा केही काम गर्न नसकेको बताएका छन् । मुलुकलाई नेतृत्व गर्न कांग्रेसको आवश्यक्ता रहेको भन्दै भण्डारीले ताजा जनादेशमा जान आवश्यक रहेको बताएका छन् ।

तनहुँको उत्तरी क्षेत्रको विकासका लागि कांग्रेसले जहिले पनि साथ दिने उनले बताएका छन् । उनले उत्तरी क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई विशेष प्रथमिकतामा राखिने बताएका छन् ।

भण्डारीले खेल क्षेत्रको विकासका लागि राज्यको तर्फबाट विशेष ध्यान पुग्नुपर्ने बताएका छन् ।

ग्रमीण भेगमा हुने फुटलबसहितका खेलकुद प्रतियोगिताले प्रतिभाहरूको प्रस्फुटनमा धेरै सहयोग पुगेको भण्डारीले बताएका छन् ।

राज्यको तर्फबाट पनि विभिन्न प्रतियोगिताहरूको आयोजना गरी ग्रामीण क्षेत्रसम्म खेलकुद गतिविधिलाई चलायमान गराउँदै खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्ने नेता भण्डारीले बताएका छन् ।

सिद्धबाबा युवा क्लवद्वारा आयोजित प्रतियोगितामा सयपत्री युवा क्लवले नाइन स्टार युवा क्लवलाई २–० गोल अन्तरले पराजित गरी प्रथम भएको थियो ।

विजयी खेलाडीहरूलाई नेता भण्डारीले ट्रफी र प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।

Published : Monday, 2021 October 25, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया