पीडितलाई सहयोग रकम छिटो दिन सरकारसँग डा.महतको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पहिरो र बाढीमा परेर जीवन गुमाएका तथा घरबास क्षतिग्रस्त भएर समस्यामा रहेका नागरिकलाई तत्काल राहत र आवास निर्माणको लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेका छन् ।

डा.महतले आइतबार विज्ञप्ति जारी गरेर समस्यामा परेका नागरिकलाई छिटो राहत उपलब्ध गराउन माग गरेका हुन् ।

उनले प्रदेश र स्थानीय सरकारले दिने राहत रकम पनि समन्वयात्मक ढंगले वितरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

डा.महतले कांग्रेससहित अन्य राजनीतिक दलहरूले बाढी, पहिरोपीडितहरूको उद्धार, राहत र बसोबासको व्यवस्थाको लागि पहल गर्न गरेको अनुरोधलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलकदमीको पनि सराहना गरेका छन् ।

सरकारले बाढीपहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

एकभन्दा बढी सदस्यको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाख रुपियाँ दिन तथा प्राकृतिक प्रकोपमा परेर आवास गुमाएका, खाद्यान्नबाली तथा जग्गाजमीन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बाढीपहिरोमा परेर घाइते भएका सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेको थियो ।

सरकारले घर भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार रुपियाँ दिने तथा घर पुनर्निर्माणका लागि पहाडमा ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सरकारले घर निर्माणको लागि जग्गा नभएकाहरूको लागि थप ३ लाख दिने निर्णय पनि गरेको छ ।

सह–महामन्त्री डा.महतले बेमौसममा परेको वर्षाले पु¥याएको क्षतिले सबैलाई मौसमसम्बन्धी जानकारी गम्भीरतापूर्वक लिनुपर्ने शिक्षा दिएको बताएका छन् ।

Published : Sunday, 2021 October 24, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया