गृह मन्त्रीको पहलमा सरकार र विप्लव समूहबीच वार्ता

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा आइतबार गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी भेरिफाइ गर्ने र कानूनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानूनसम्मत फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र कैदी बन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए ।

नेकपाका प्रवक्ता विश्वकर्माले बैठक सकारात्मक रूपमा अघि बढेको र केही दिनमै नतिजा निस्कने जानकारी दिए ।

यसअघि कात्तिक दुई गते गृहमन्त्री खाणको पहलमा नेकपा र नेपाल सरकारबीच तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको थियो ।

Published : Sunday, 2021 October 24, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया