ओलीको अर्को सरकार आजै ढल्ने पक्का, कांग्रेसहितका दलहरूले सरकार बनाउने

विराटनगर । एमालेका अध्यक्ष खड्ग्रप्रसाद ओलीको प्रधानमन्त्री पद फुस्किएको ५ महिनापछि प्रदेश १ को एमालेको सत्ता पनि ढल्ने भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (आइतबार) विश्वासको मत लिँदै छन् । आचार्यले विश्वासको मत पाउने छैनन् । आचार्य अल्पमतमा छन् । उनीको मुख्यमन्त्री पदको कुर्सी फुत्किने पक्का छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आचार्यविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया शुरु हुनेछ ।

आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा २५ असोजमा दर्ता भएको थियो ।

आचार्य एमालेबाट मुख्यमन्त्री बनेका हुन् । एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) निर्माण भएसँगै प्रदेशसभामा आचार्यले बहुमत गुमाएका छन् ।

सम्भवत कुनै राजनीतिक सहमति नभएमा प्रदेश १ सरकारका मुख्यमन्त्री आचार्य आइतबार पदमुक्त हुने निश्चित छ । ओलीले प्रदेश १ को सरकार बचाउन तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

तत्कालीन एमालेमा रहेको १० जना संसदले एकीकृत समाजवादी पार्टी रोजेका थिए । प्रदेश १ मा एमालेका ५१ प्रदेश सभा सदस्य थिए ।

१० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले सांसदको संख्या ४१ मा झरेको छ ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको ४७ मत चाहिन्छ । त्यसमध्ये सभामुख प्रदीपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले उनले ३९ मत मात्र प्राप्त गर्ने अवस्था छ ।

विपक्षी गठबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छन् । नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना छ । राईपछि कांग्रेसले मुख्यमन्त्री पाउनेछ ।

Published : Sunday, 2021 October 24, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया