मकवानपुरमा एमालेका अध्यक्षसहित लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, बानियाँद्वारा स्वागत

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बनियाँले एमालेको गाउँ कमिटीका अध्यक्ष शत्रुघन दुलाललाई पार्टीमा स्वागत गरेका छन् ।

हेटौँडामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता बानियाँले एमाले मकवानपुरगढी वडा नम्बर– ३ का कमिटी अध्यक्ष दुलालसहित ६ जनालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

नेता बानियाँका स्वकीय सचिव मिलन पुडासैनीका अनुसार नेकपा (एमाले)को गढी–३ का गाउँ कमिटी अध्यक्ष शत्रुघन दुलालसहित ६ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा अध्यक्ष दुलालसहित एमालेका वडा कमिटीका सदस्य कृष्णप्रसाद घिमिरे, समाजसेवी रेवतीप्रसद चौलागाइँ लगायतका स्थानीय लोकप्रिय नेता कार्यकर्ता रहेका छन् ।

नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका संसदीय दलका नेता बानियाँले कम्युनिष्टबाट देशको शासन व्यवस्था र विकास सम्भव नभएकाले कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको बताएका छन् । उनले कांग्रेसको सदस्यता लिएकाहरूलाई उचित सम्मान गर्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नम्बर २ का संघीय सभापति यतीराज सापकोटा, क्षेत्र नं. १ का सचिव सुवातसिंह थिङ, युवा नेताहरू राजु गौतम, इन्द्रप्रसाद चौलागाइँ, सागर तिमिल्सिना, विश्वराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

Published : Thursday, 2021 October 21, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया