गुप्तचर काण्डमा निर्मल भट्टराई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने ३५ वर्षीय निर्मल भट्टराईलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने झापा सुरुङ्गा कनकाई नगरपालिका–३ स्थायी घर भएका भट्टराईलाई मंगलबार पक्राउ गरेको प्रहरीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भट्टराईले १५ लाख रुपियाँ लाग्छ भनी प्रलोभनमा पारी पटक–पटक गरी १४ लाख ५० हजार रुपियाँ लिइसकेका थिए ।

भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको बताउँदै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

उनले राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु र उक्त पदमा जागिर खाने भए उनले मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ भन्दै रकम असुली गरेका थिए ।

पीडितलाई काठमाडौं बोलाए पश्चात भट्टराई सम्पर्क विहीन भएपछि महानगरीय अपराध महाशाखा मीनभवनमा जाहेरी परेको थियो ।

महाशाखाबाट खटिएको प्रहरीले भट्टराईलाई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बसपार्कमा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

Published : Wednesday, 2021 October 20, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया