विकास गर्ने कांग्रेसले हो, हुतिहारा कम्युनिस्टले लुट्ने मात्रै हुन् : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले दशैँको अवसरमा शुभकामना दिँदै कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफीमा आइतबार आयोजित दशैँको शुभकामा आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कोरोना र प्रकृतिक विपत्तिबाट सिन्धुपाल्चोक निकै समस्यामा रहेको बताए ।

उनले भने, ‘हामी कोरोना र बाढीपहिरोको विपत्तिबाट सबैभन्दा धेरै समस्यामा छौँ । हामी सबैले गरेको सानो प्रयासहरूबाट समस्यामा रहेका जनतालाई राहत दिने प्रयासहरू भएका छन् ।’

बस्नेतले कम्युनिस्टले जनतालाई विपत्तिमा कांग्रेसले सहयोग गर्न खोज्दा पनि अबरोध गरेको तितो स्मरण सुनाए । ‘हामीले कोरोनाका बेला स्वास्थ्य सामग्री र राहत वितरण गर्दा कम्युनिस्टलाई मन परेन’, नेता बस्नेतले भने, ‘विकास कांग्रेसले गर्द । अबको निर्वाचनमा कांग्रेसको रुख चिन्हमा भोट हालेर जिताउनुपर्छ ।’

कार्यक्रममा कांग्रेसका युवा नेता प्रेमध्वज लामाले मेलमिलापको नीति लिएर वीपीले चियापानको नाममा कांग्रेसको संगठन गरेको बताए ।

नेपाली कांग्रेस बलेफी गाउँपालिकाका सभापति कृष्णभक्त नेपालको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका पूर्वक्षेत्रीय सभापति तथा युवा नेता जंगबहादुर तामाङ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2021 October 12, 6:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया