मोहन बस्नेतद्वारा सडक उद्घाटन, कांग्रेसको प्रशंसा गर्न सभामुख सापकोटा बाध्य

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको टिम्मुरे–रतनकोट जुगे सडकमा बस सेवा सञ्चालनको शुभराम्भ गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको सानोपाखरमा बिहीबार आयोजित विशेष कार्यक्रममा नेता बस्नेतले सडकको उद्घाटन गरेका हुन् । उनले यातायात सञ्चालनको शुरुवात पनि गरेका छन् । अरनिको यातायात समितिको बस सञ्चालनमा समेत आएको छ ।

बस्नेतकै पहलमा यो सडक निर्माण भएको हो । सडकका लागि ३० करोड ७४ लाख रुपियाँ विनियोजित भएको थियो । सुनकोशी गाउँपालिकाअन्तर्गत पर्ने सडकको लम्बाइ १२ किलोमिटर रहेको छ ।

कार्यक्रममा उपस्थित कांग्रेसका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलगायत लाभग्राहीहरूको भव्य उपस्थिति रहेको थियो ।

कांग्रेस नेता बस्नेतले सडक निर्माणमा आफू सांसद हुँदा ३० करोड ७४ लाख बिनियोजन गराएको स्मरण गरे । उनले गाउँका जनताको सेवा र सुविधाका लागि आफूले सधैँ काम गर्दै आएको बताए ।

उनले विकासका काममा कांग्रेस र कम्युनिस्ट भनेर आफूले कहिल्यै नछुट्याएको बताए । नेता बस्नेतले भने, ‘कांग्रेसले बनाएको सडकमा सबैको अधिकार बराबार छ ।’

बस्नेतले सडक निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । आफ्नै पहलमा बनेको सडकको उद्घाटन गरेर जनताको सेवा गर्न पाउँदा निकै खुसी लागेको बस्नेतले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ लगायत लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयहरू सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

साढे ६ किलोमिटर सडक निर्माण सम्पन्न भएर दशैँ लगतै हस्तान्तरण गर्ने योजना रहेको पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिएका छन् ।

अहिले सडक निर्माणको काम करीव ९८ प्रतिशत सम्पन्न भएको र बिग्रिएका स्थानमा मर्मको काम मात्र भइरहेको श्रेष्ठले बताए ।

सडकको बनावट, नाली, गाभ्रेल र ढलान गरेर सडक व्यवस्थित रुपमा निर्माण गरिएको श्रेष्ठले बताए ।

पूर्वमन्त्री बस्नेतले काग्रेसले मात्रै विकास गर्ने बताएका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित सभामुख समेत रहेका अग्नि सापकोटाले जिल्लाको विकासमा एउटा सिन्को पनि नभाँचेको बस्नेतले बताएका छन् ।

‘सिन्धुपाल्चोकको विकास कांग्रेसले गर्छ, कम्युनिष्ट टन्न अघाएर मात्रै बसेका छन्’, उनले भने, ‘अरु पनि विकासका लागि तपाईहरू सबै कांग्रेस हुनुपर्छ ।’

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सुनकोशी गाउँपालिकाको रिङरोड बनाउने अभियान अन्तरगत सडक निर्माण भएको बताएका छन् ।

बाँकी सडक खण्ड पनि तत्कालै निर्माण गरेर आफूहरूले शुरु गरेको रिङरोड अभियानलाई पूरा गर्ने जिसीले बताए ।

सुनकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवम् नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य रामकुमार थापाले दशैंलाई लक्षित गरेर वर्षाको समयमा भत्किएका सडक ममर्त शुरु गरिएको बताए ।

अपांग संघ सिन्धुपाल्चोकका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि प्रेम लामा, सुनकोसी गाउँपालिका वडा नं. ६ का निर्वाचित वडा सदस्य रुपकाजी लामा, समाजसेवी तथा युवा व्यवसायी एवम् क्षेत्रीय प्रतिनिधि थुप्तेन लामा लगायतले आफ्नो महत्त्वपूर्ण भनाई राखेका थिए ।

माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले विकासका काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता बस्नेतले सडक बनाएर उद्घाटन गरेका छन् ।

कांग्रेसले बनाइदिएको यो सडकमा सभामुख सापकोटा पनि हिँड्न पाउनेछन् । काम नगरे पनि माओवादी नेता सापकोटालाई कांग्रेसले विकास ल्याएर सजिलो बनाइदिएको छ ।

Published : Thursday, 2021 October 7, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया