नागढुंगामा उत्पात मच्चाउने निरीक्षकसहितको टिम आउट, निरुले पाइन कमाण्ड

काठमाडौं । काठमाडौं प्रहरी परिसरले महानगरीय प्रहरी प्रभाव नागढुंगामा कार्यरत प्रहरी निरीक्षक त्रिभुवनसिंह थापासहित सबै प्रहरीलाई तानेको छ ।

निरीक्षक थापाका विरुद्ध प्रहरीका विभिन्न निकायमा धेरै उजुरी परेपछि जिम्मेवारीबाट हटाएर नयाँ नेतृत्वलाई पठाएको जनाइएको छ ।

निरीक्षक थापाले कार्यसम्पादन लगायतका कामकारबाहीमा सन्तोषजनक काम गर्न नसकेपछि तानिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर प्रहरी निरीक्षक निरू दुवालको नेतृत्वमा नयाँ टोली पठाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले चाडपर्वको समयमा सुरक्षा प्रबन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्नको लागि पुरानो टोली फिर्ता गरी नयाँ टोली पठाइएको जानकारी दिएका छन् ।

नागढुंगा प्रभागमा प्रहरी निरीक्षकको नेतृत्वमा ३३ जनाको दरबन्दी थियो । नागढुंगा काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो ।

नागढुंगा प्रभागबाट तानिएका सबै प्रहरीलाई मेट्रो मातहतका प्रहरी कार्यालयमा खटाइएको छ ।

काठमाडौं प्रहरी परिषरका डिएसपी सुधिरराज शाहीले नियमित प्रक्रियाअन्तर्गत नागढुंगा प्रहरी प्रभागका निरीक्षक थापासहित सबै टोलीलाई काठमाडौंका विभिन्न स्थानमा पठाइएको बताए । उनले नागढुंगामा नयाँ टोली पठाइएको बताएका छन् ।

Published : Thursday, 2021 October 7, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया