ओलीलाई तनाब हुने बोल्ड निर्णय, बालकोटमा खैलाबैला

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निर्णयले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो तनाब भएको छ ।

सापकोटाको आइतबारको निर्णयले ओलीसँगको दुरी झन् बढेर गएको छ । ओलीले माधव नेपाललाई साथ दिएका १४ सांसदलाई निष्कार्षन गरेको सूचना जारी गर्न भनेका थिए । सापकोटाको निर्णयपछि ओलीले आफू निकटका नेता र सांसदहरूसँग बालकोटमै परामर्श गरेका छन् ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई कारबाही गरिरहनु नपर्ने निष्कर्ष सभामुख सापकोटाले निकालेपछि ओलीलाई तनाब भएको हो ।

सभामुख सापकोटाको निर्णयबारे संसद् सचिवालयले भनेको छ, ‘गत भदौ १ मा पठाएको पत्रमा उल्लेख भएका प्रतिनिधिसभाको सदस्यहरु समेत समावेश भइ सनाखत गरी नेकपा (एकिकृत समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको मिति ०७८ भदौ ११ मा निर्वाचन आयोगबाट जानकारी प्राप्त हुन आएको सन्दर्भलाई समेत मनन गर्दा एमालेको उक्त पत्रका सन्दर्भमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ बमोजिम नै कुनै कारबाही गर्नुपर्ने अवस्था रहेन ।’

एमालेले कारबाही गरी पदमुक्त गरिएको सूचना टाँस गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

सापकोटाले परामर्श गर्नेभन्दै समय लिएका थिए । सापकोटाले निर्णय नलिँदै निर्वाचन आयोगले सनाखतमार्फत माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएको थियो ।

एमालेले कारबाही गरेका १४ जना सांसदहरू एकीकृत समाजवादीतिर लागेका छन् ।

सापकोटाले दल दर्ता भइसकेको र त्यसको जानकारी आयोगबाट संसद् सचिवालयमा आइसकेको हुनाले कारबाही गर्नुको औचित्य नरहेको निष्कर्षमा पुगेका छन् ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा प्रतिनिधि सभाको बैठकमा सहभागी नभएकामध्ये १४ जनालाई निष्कासन गर्दै पदमुक्त गरिएको सूचना टाँस गर्न एमालेले भदौ १ गते संसद् सचिवालयमा पत्र दर्ता गरेको थियो ।

Published : Sunday, 2021 August 29, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया