दाङबाट कांग्रेस नेताहरूले गरेको घोषणाले कम्युनिस्टभित्र खैलाबैला, अधिकांश ठाउँ यसरी कब्जा गर्ने

घोराही । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति पदमा उम्मेदवारी दिने दोहोर्‍याएका छन् ।

दाङको घोराहीमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिनेभन्दै सहयोगका लागि आग्रह गरेका छन् । कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र ? अवश्य उठ्छु नि । उम्मेदवारीबाट पछाडि हट्नेछैन ।’

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरेकी आमा यबादेवी शर्माको सम्झनामा पार्टीले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जलि सभा कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले महाधिवेशन निर्धारित मितिमा हुने बताए । उनले तयारीमा जुट्न कांग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महाधिवेशन भदौ १८ गतेदेखि वडाबाट शुरु हुने कोइरालाले बताएका छन् ।

पार्टीको आन्तरिक जीवनमा महाधिवेशनले महत्वपूर्व अर्थ राख्ने भन्दै कोइरालाले महाधिवेशन कांग्रेसका नेता तथा कार्यकर्ताका लागि ठूलो पर्व भएकाले सहि र सक्षम नेतृत्व चुन्नुपर्ने बताए ।

पार्टीको निर्वाचनलाई हार र जितको विषय बनाउन नहुने उनले बताएका छन् । कोइरालाले पार्टीलाई बलियो र एकताबद्ध बनाएर आउने निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने बताएका छन् ।

महामन्त्री कोइरालाले कम्युनिष्ट फुटेको समय भएकाले गाउँ–गाउँमा पार्टी संगठनमा जुट्न निर्देशन दिएका छन् ।

उनले पार्टीको निर्वाचन अन्तिम नभएको भन्दै आउने आम निर्वाचन कांग्रेसको प्रतिष्ठाको लडाइँ भएको बताएका छन् ।

एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने कोइरालाले बताएका छन् ।

सह–महामन्त्री प्रकाशशरण महतले महाधिवेशन निर्धारित समयमा हुने भएकाले ढुक्क हुन आग्रह गरेका छन् ।

उनले चुनावलाई राजनीतिक इगो बनाएर आउने निर्वाचनमा त्यसलाई रिस साँध्ने विषय बनाउन नहुने बताएका छन् ।

अधिवेशनबाट आउने नेतृत्वलाई सहयोग गर्दै पार्टीलाई थप बलियो बनाएर लगेमा कांग्रेसले बहुमत ल्याउने महतले बताएका छन् ।

विगतमा दाङ कांग्रेसले जितेर गढ बनाएको बताएका उनले अब आउने चुनावमा दाङका सबै निर्वाचन क्षेत्र कांग्रेसले जित्ने गरि लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले महाधिवेशनमा एकताको सन्देश दिन सक्यौँ भने कम्युनिस्टसँग प्रतिस्पर्धा हुने निर्वाचनमा सजिलै जित्ने बताए । उनले महाधिवेशनलाई सहज रुपमा लिएर उत्सवका रुपमा मनाउन अपील गरेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, सञ्जय गौतमलगायतले पार्टीभित्र गुट–उपगुट अन्त्य गरेर बिचार र दृष्टिकोणलाई आधार मानेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

Published : Sunday, 2021 August 29, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया