यी ‘भगौडा’ले नेपाललाई धोका दिए पनि असर परेन, झन् राम्रो

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद मिल्न नसक्दा विभाजन भएको एमालेको सुदूरपश्चिम प्रदेशमा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) भन्दा एमालेमा धेरै केन्द्रीय सदस्य र सांसदहरू धेरै बसेका छन् ।

एमालेबाट अलग भएको एकीकृत समाजवादी गठनपछि नेताहरूले कित्ता खुलाउन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्यले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ६ जना सांसदले एमाले छोडेका छन् । दुई केन्द्रीय सदस्य सांसद समेत छन् ।

सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए । जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), बिक्रम शाही (डडेल्धुरा) र प्रेमबहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन् ।

जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् । आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् ।

नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमा बसेका छन् । रावल यसअघि नेपाल समूहतिर थिए । पार्टी विभाजन हुँदा रावलले नेपाललाई साथ दिएनन् ।

लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमा रहेका छन् ।

सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन् । ८ जना ओलीनिकट छन् । ३ जना माधव समूहका छन् ।

ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना, अछामका यज्ञ बोगटी, भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमा छन् ।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन् । कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी एकीकृत समाजवादीमा छन् । कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छिन् ।

चार जना राष्ट्रिय सभाका सांसदमध्ये दुई जना एकीकृत समाजवादीमा लागेका छन् । शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका हुन् । कञ्चनपुरका इन्दु कडरिया विष्ट र डडेल्धुराका चक्र स्नेही एमालेमा छन् ।

सुदूरपश्चिम प्रदेशबाट एमालेमा प्रतिनिधित्व गर्ने नेता रावलकै उक्साहटमा नेता नेपालले पार्टी विभाजनसम्मको निर्णय गरेका हुन् । अन्तिममा रावलले नेपाललाई धोका दिएका थिए । सुदूरपश्चिम प्रदेशमा रावलले पार्टीभित्र पकड गुमाउँदै गएका छन् ।

Published : Sunday, 2021 August 29, 7:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया