भारतले दियो मेडिकल अक्सिजन प्लान्ट, एकसाथ २ सयलाई उपचार गर्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठलाई राजदूत क्वात्राले ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो मेडिकल अक्सिजन प्लान्ट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ ।

प्रतिव्यक्ति ५ एलपीएम (लिटर प्रतिमिनेट) क्षमता भएको अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ ।

अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्दछ ।

राज्यमन्त्री श्रेष्ठले भारतद्वारा उपहार स्वरुप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारको रुपमा रहेको अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड–१९ महामारीविरुद्घको लडाइँमा थप बल पुग्ने बताएका छन् ।

धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोषेढुङ्गा भएको चर्चा गर्दै राज्यमन्त्री श्रेष्ठले हस्तान्तरण गरिएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोषेढुङ्गा भएको बताएका छन् ।

भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताएका छन् ।

अक्सिजन कोभिड–१९ का बिरामीहरूको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरूमा नभई नहुने एक महत्वपूर्ण क्लिनिकल ग्यास हो । जुन नेपाल र भारतमा महामारीको दोस्रो लहर देखापर्दा अनुभव गरिएको थियो ।

रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ) ले निर्माण गरेको मेडिकल अक्सिजन प्लान्टको मद्दतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्नेछ ।

यो प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो । वायुमण्डलीय हावाबाट सिधै अक्सिजन उत्पादन गर्नका लागि यो प्रविधिले सहयोग गरेको छ ।

मेडिकल अक्सिजन प्लान्टको स्थापनाले अपर्याप्त अक्सिजन सिलिन्डर माथिको अस्पतालको निर्भरता र सिलिन्डरको ढुवानीमा लाग्ने खर्च घटाउनुका साथै भरपर्दो तरिकाले चौबीसै घण्टा अक्सिजनको उपलब्धतालाई सहज बनाउनेछ ।

Published : Thursday, 2021 August 26, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया