पौडेल समूहले जिल्ला सभापतिहरू उचालेर महाधिवेशन भाँड्न थालेः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले १४औँ महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् ।

काठमाडौंमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालीकोट, मुगुको सभापतिलाई समस्या होला ।’

‘अधिवेशनको माहोल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ’, उनले भने, ‘म सबैलाई पार्टीको महाधिवेशनमा विन्रमतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन् ।’

सभापति थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिल्ला सभापतिहरू उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको आरोप लगाए
उनले भक्तपुरमा आफूहरूले क्रियाशील सदस्यता वितरण सर्वसम्मत रुपमा गरेको बताएका छन् ।

‘भक्तपुरमा हामीले नयाँ क्रियाशील र नवीकरण केन्द्रीय परिपत्र र विधानअनुसार नै गरेका हौं’, उनले भने, ‘भक्तपुरमा क्रियाशील सदस्यताको विवाद छैन् ।’

उनले भने, ‘अरु ७६ जिल्लामा पनि साथीहरूले नवीकरण र वितरण गर्नुभयो होला भन्ने लागेको थियो । तोकिएको समयभन्दा अघि नै हामीले काम सम्पन्न गरेको हो ।’

‘हिजो समायोजनको प्रक्रियामा जाँदै गर्दा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका साथीहरूलाई पनि उचित रुपमा समायोजना गरेकै हो’,

सभापति थापाले भने, ‘यसमा समायोजन समिति गठन गरेर समायोजन गरेको हो । को सह–महामन्त्री बन्यो ? को केन्द्रीय सदस्य बन्यो ? कसले महासमिति सदस्य बन्यो भन्दापनि सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’

सभापति थापाले अहिले कांग्रेस वैधानिक संकटमा छ भन्ने कुरा पनि आएको उल्लेख गर्दै भने, ‘वर्तमान सभापतिले महाधिवेशन गर्न नसक्ने भनेर पनि कुरा आयो । तर, सर्वसम्मत १४औं महाधिवेशनको मिति तय भएको छ ।’

‘क्रियाशील सदस्यताको विवाद पनि समाधान भएको थियो’, उनले भने, ‘देशभरिका साथीहरू हर्षोल्लासका साथ सहभागी हुने वातावरण बनिरहेको बेला साथीहरू किन र कुन घेराबन्दीमा परेर धर्ना दिइरहनुभएको छ ? यो मलाई थाहा छैन् ।’

थापाले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको बताएका छन् ।

‘देशव्यापी रुपमा अधिवेशनको माहोल बन्दै थियो’, उनले भने, ‘भोलिपल्टै अनियमितता भयो, धाँधली भयो । वेबसाईटमा सार्वजनिक गर्नुप¥यो भनेर धर्नामा हुनुहुन्छ ।’

पौडेल समूहका जिल्ला सभापतिहरू १४औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला विभिन्न बखेडा गरेर पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा धर्नामा बसेका छन् ।

क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा, नेताद्वय पौडेल र सिटौलाले सहमतिमै बुझेको २४ घण्टाभित्रै असहमति प्रकट गरेर आन्दोलनमा गएको छ ।

Published : Thursday, 2021 August 26, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया