यी विवादित भीआईपी कम्युनिस्टलाई शीतल निवास र बालकोटाले बचाउन सकेन, भोजपुरतिर तनाब

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले रुचाएका शेरधन राईले प्रदेश १ को मुख्यमन्त्री गुमाउनु परेको छ ।

राईले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । राईको राजीनामासँगै एमालेको असन्तुष्ट समूहका प्रदेश सांसद भीम आचार्य मुख्यमन्त्री बनेका छन् । आचार्य तेस्रो प्रयासमा मुख्यमन्त्री बन्न सफल भएका हुन् । राईलाई हटाउन आचार्यले विभिन्न प्रयास गरेका थिए । सफल भएका थिएनन् । एमाले विभाजन भएपछि आचार्यको भाग्य खुलेको छ ।

विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेर आचार्यलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

माधव नेपाल समूहका आचार्यसँगै प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लीलाबल्लब अधिकारी, यशोदा अधिकारी र साबित्री जोशी एमालेमा खुलेका छन् ।

नेपाल समूहमा प्रदेश– १ का १५ सांसद छन् । आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन् । आचार्यले नेपाल समूहका सांसदहरूलाई प्रलोभन देखाएर फकाउँदै पनि आएका छन् ।

आचार्यले एमालेभित्र आफूले सबै मन्त्रीहरू टिमबाट बनाउने भन्दै मन्त्रिमण्डल र संसदीय समितिमा पनि व्यापक फेरबदल गर्ने आश्वासन दिएका छन् । आचार्यले जति सांसदसँग भेट गरेका छन् ती सबैलाई मन्त्री पद बाँडेको चर्चा छ ।

आचार्यका लागि आगामी दिन सहज छैनन् । आचार्यलाई मुख्यमन्त्रीमा नेता नेपालले सघाउन नसक्ने जवाफ यसअघि नै दिइसकेका छन् ।

प्रदेशमा एमालेका ५१ सांसद छन् । नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका उप–सभामुखसहित १५ सांसद छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेका छन् । एमालेका ५१ सांसदमध्ये १५ जना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा रहेका छन् ।

एकीकृत समाजवादीले पनि आचार्यको सत्तारोहण रोक्न उपायको खोजी शुरु गरेको छ । एमालेले आफ्ना पक्षका सांसद लान सक्ने भन्दै नेपालले १ महिने सरकारमा मन्त्री नबन्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियाँलाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् ।

माधव नेपाल समूहका १८ जनामध्ये आचार्यसहितका ८ जनाले एमाले रोज्ने निर्णय गरेका छन् । बाँकी १० जना बिहीबारको संसदीय दलको बैठक र मुख्यमन्त्रीको शपथमा आएनन् ।

मुख्यमन्त्री रहेका बेला विवाह गरेका राई पटक–पटक विवादमा परेका थिए । कम्युनिस्ट नेता भएर पनि राईले काठमाडौंमा राजपरिवारले जसरी करोडौँ रुपियाँ खर्च गरेर विवाह गरेका थिए । सरकारी ढुकुटी दुरुपयोग गरेर राईले ससुराली जाँदा तीन वटा हेलिकप्टर लगेको भनेर आलोचना समेत भएको थियो ।

राईले भोजपुर जिल्लाबाट प्रदेश सांसद जितेका थिए । राईलाई भण्डारीको दवावमा ओलीले मुख्यमन्त्री बनाएको चर्चा छ । मुख्यमन्त्री बनेपछि राईले गृहजिल्ला भोजपुरमा सिन्को भाँच्न सकेका छैनन् ।

Published : Thursday, 2021 August 26, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया