ओली छुद्र भाषामा बरबराए

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीलाई विभाजनबाट रोक्न आफूले कोसिस गरे पनि बचाउन नसकेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले केही मानिसका प्रवृत्तिका कारण पार्टीलाई विभाजनबाट बचाउन नसकेको बताएका हुन् ।

‘पार्टीलाई विभाजनबाट रोक्न धेरै कोसिस गरे’, उनले भने, ‘केही मानिसका प्रवृत्तिका कारण बचाउन सकिनँ, दुःखी छु ।’

अध्यक्ष ओलीले आफूले पढाएका विद्यार्थीले डिस्टिङ्सन ल्याउन भन्ने चाहे पनि केही मानिसहरू फेल भएको बताए ।

उनले नेताहरूलाई घरबाट तानेरै लगेर रिसोर्टमा थुनिएको आरोप लगाएका छन् । घरबाट जबर्जस्ती लगेर रिसोर्टमा लगेर नेताहरूलाई थुनिएको आरोप उनले लगाएका हुन् ।

ओलीले माधव कुमार नेपालका चटके कुराका पछाडि नलाग्न आग्रह गरेका छन् । उनले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गरिसकेपछि एकता गर्छु भन्ने नेपालका चटके कुराका पछाडि नलाग्न आग्रह गरेका हुन् ।

‘पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्ने अनि त्यसपछि एकता गर्छु भन्ने ? यस्ता चटके कुराका पछाडि कोही पनि नलाग्नुस्’, उनले भने ।

ओलीले एक–दुई दर्जन मान्छे जोडेर बृहत कम्युनिस्ट एकता गर्छु भन्नु हास्यास्पद भएको बताए । ‘एक–दुई दर्जन मान्छे जोडेर बृहत् कम्युनिस्ट एकता हुन्छ?’ माधव नेपालप्रति व्यंग्य गर्दै ओलीले भने, ‘टुक्राटुक्री जोडेर बृहत् कम्युनिस्ट एकता हुँदैन ।’

उनले माधव नेपालले घर जलाएर खरानी बेच्ने काम गरेको पनि बताए । ‘आफ्नो घर जलाउने अनि खरानी बेच्ने । त्यसपछि खरानी बेचेर शहर बनाउँछु भन्ने ?’, ओलीले प्रश्न गरेका छन् ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको हुर्मत लिने काम गरेको आरोप लगाएका छन् ।

उनले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नगरेर लोकतन्त्रको हुर्मत लिने काम गरेको आरोप लगाएका हुन् ।

उनले १४ सांसदलाई पदमुक्त गर्न सभामुखले संसद सचिवालयलाई सूचना जारी गर्न नदिएको पनि आरोप लगाए ।

‘कारबाही गरेर संसद सचिवालयलाई सूचना जारी गर्न सभामुखले दिएका छैनन्’, उनले भने, ‘के यही हो अग्रगमन ? सभामुखले लोकतन्त्रको हुर्मत लिने काम गरिरहेका छन्, यो अनुचित र प्रतिगामी कदम हो ।’

अध्यक्ष ओलीले १४ सांसदमाथि कारबाहीको सूचना टाँस गर्न छोडेर सभामुख दाँत टाल्न गएको बताए । ‘लेखराज भट्ट, टोपबहादुर रायमाझीहरूलाई प्रचण्डले निष्कासन गर्न दिएको आदेश ढोकाबाटै सूचना टाँस गरेर कार्यान्वयन गर्नुभयो’, ओलीले भने, ‘एमालेले गरेको कारबाही ९ दिनसम्म कार्यान्वयन गर्नुभएन ।’

‘हिजो उहाँ दाँत टाल्न जानुभयो’, उनले छुद्र भाषा प्रयोग गर्दै भने, ‘शुभकामना छ दाँत ठीक होस् र टालियो होला पनि ।’

उनले पार्टीको केन्द्रीय कमिटीले गरेको कारबाहीलाई सभामुखले सदर गर्नु पर्ने बताएका छन् ।

सभामुख साझा र निष्पक्ष व्यक्ति हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । ‘सभामुखको कुर्सीमा बसेपछि कानुनको पालना गर्नुपर्छ । मर्यादा पालना गर्नुपर्ने मान्छे नै मर्यादामा बस्न नसक्नु दुःखद् कुरा हो’, उनले भने, ‘सभामुखले एमालेलाई फुटाउन चाहनुभयो ।’

अध्यक्ष ओलीले १४ सांसदमाथिको कारबाही रोक्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।

‘हामीले गरेको कारबाहीलाई रोक्ने काम नगर्नुस्’, उनले भने, ‘हामीले गरेको कारबाहीलाई सदर गरेर सार्वजनिक सूचना जारी गर्नुस् ।’

Published : Wednesday, 2021 August 25, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया