कांग्रेसका कार्यकर्तालाई आर्थिक रुपले सक्षम बनाउनुछ : बानियाँ, यसरी हुँदैछ ऋण दिने तयारी

कुपण्डोल । नेपाली कांग्रेसको पूर्वाधार र रोजगार समितिका सह–संयोजक एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस आर्थिक रूपमा पनि जनता र कार्यकर्तासंग जोडिनुपर्ने बताएका छन् ।

सोमबार ललितपुरको कुपण्डोलमा नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिको आयोजनामा ‘गरिखाने कांग्रेस बनाउने’ अभियान अन्तर्गत नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरूको दोस्रो चरणको कार्यक्रममा सम्बोधन गर्दै बानियाँले जनता र कार्यकर्तालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने बताए ।

उनले कार्यकर्ताहरू आर्थिक रुपमा सक्षम हुँदा मात्रै देश र पार्टीका नेता कार्यकर्ताको उन्नति हुने बताए ।

‘कांग्रेसका कार्यकर्ताहरू आ–आफ्नो इलममा लाग्नुपर्छ । राजनीति गर्दा आर्थिक रुपले सक्षम कार्यकर्ता भयो भने राजनीति पनि राम्रो हुन्छ । देशमा बेरोजगारीको समस्या पनि क्रमशः हट्दै जान्छ’, बानियाँले भने, ‘यो विषयमा कांग्रेसले ध्यान दिनुपर्छ । त्यसै अनुसार हामीले काम पनि अगाडि बढाएका छौँ ।’

उनले हरेक वर्गलाई श्रम र उद्यमसंग जोडेर आत्मनिर्भर बनाउनेतर्फ कांग्रेसले काम गर्नुपर्ने बताएका छन् । बानियाँले केही गरौँ भन्ने जाँगर भएका कांग्रेसका कार्यकर्ताहरूलाई जिल्लाका पार्टी सभापति अथवा आफूहरूको समितिमा सिधै सम्पर्क गर्न अनुरोध गरेका छन् ।

राजनीतिक रूपमा त्याग र समर्पणबाट कांग्रेस अहिलेको अवस्थामा आइपुगेको भन्दै नेता बानियाँले अब जनता र कार्यकर्तालाई त्याग र समर्पणसंगै आर्थिक रूपमा बलियो बनाउनुपर्ने बताए ।

यसका लागि पूर्वाधार र रोजगार समितिले ‘गरिखाने अभियान’ संचालन गरेको बताएका छन् । नेता बानियाँले काम गर्ने जोश, जाँगर र योजना भएको इमान्दार कार्यकर्तालाई कांग्रेसले बैंकलाई सहजीकरण गरेर ऋण निकाल्न मद्धत शुरु गरिसकेको बताए । उनले यो अभियानमा जोडिने कांग्रेसका कार्यकर्तालाई जिल्ला सभापतिहरूमार्फत अगाडि बढाउँदा झन् सहज हुने बताएका छन् ।

आमनागरिकको जनजीविका र अवसरको व्यवस्थाका लागि समितिले दिएको सुझावलाई पार्टीले नीति निर्माणका क्रममा लागू गर्नुपर्ने उनको सुझाव दिएका छन् ।

कार्यक्रममा समितिको भावी योजनाबारे छलफल गरिएको थियो । कांग्रेसले यो समितिमार्फत बैंकसँग सहजीकरण गरेर ऋण निकालिदिने कार्यहरू शुरु गरिसकेको छ । कांग्रेसको सरकार आउनुभन्दा करीव १४ महिनादेखिको गृहकार्यपछि ८ वटा निजी बैंकले ऋण दिन तदारुकता देखाएका छन् । केही बैंकले ऋण दिन शुरु समेत गरिसकेका छन् ।

समितिका संयोजक विनोद चौधरी, सह–संयोजक एवम् स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, दीपक खड्का, अनिल रुङाटा, पूर्वसांसद राजीवविक्रम शाह, समितिका सदस्यहरू भक्तप्रल्हाद पाण्डे र विमल ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 August 24, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया