रौतहट प्रहरी र घुमुवाहरूको काण्डको भण्डाफोर, प्रहरीको इज्जत नै फाले

काठमाडौं । नेपाली पत्रकार महासंघले समाचार लेखेको विरोधमा प्रतिशोध लिन पत्रकारलाई लागुऔषध राखेर फसाउने हर्कत गर्ने रौतहट प्रहरीको भण्डाफोर गरिदिएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गरेर रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार महम्मद मोजिबुल्लाहलाई लागुऔषध नाइट्रोभेट टेबलेट मोटरसाइकलमा राखेर फसाउन खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘रौतहटस्थित होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागुऔषध राखेर पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘महासंघ रौतहट शाखाका अनुसार २०७८ साउन ३२ गते राति ८ः०० बजेतिर होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायकतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा उक्त लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको जनाएको छ’, पत्रकार महासंघले भनेको छ ।

‘देशमा अपराध नियन्त्रण गर्ने र नागरिकको जिउधनको सुरक्षा गर्नेजस्ता कार्यमा खटिएका प्रहरीजस्तो जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद् र निन्दनीय कार्य हो’, महासचिव पुरीले भनेका छन् ।

‘प्रहरीको यस्तो कार्यबाट आमनागरिकमा प्रहरीप्रतिको विश्वासमा आघात पुग्नका साथै कानुनी राज्यको समेत उपहास भएको महासंघ ठहर छ’, महासंघले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र सिसिटिभी फुटेजबाट निर्दोष देखिएका पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

रौतहट प्रहरी र घुमुवाहरूको अनैतिक हर्कतविरुद्ध समाचार लेखेपछि प्रहरीले फसाउन लागुऔषध मोटरसाइकलमा राखेको सिसिटिभी फुटेज बाहिरिएपछि घटनाले नयाँ मोड लिएको छ ।

नेपाल प्रहरीका आईजीपी शैलेन्द्र थापा क्षेत्रीले राम्रोसँग कमाण्ड सम्हाल्न नसकेको भनेर आलोचना भइरहेका बेला रौतहट प्रहरीको यो काण्डले प्रहरीमाथिको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

पत्रकारलाई फसाउन प्रहरीले लागुऔषध राखेर काण्ड गर्छ भने सर्वसाधारणलाई के सम्म गर्दो हो भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

Published : Sunday, 2021 August 22, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया