कांग्रेसले जातीय राजनीति गर्दैन, हामी मिलेर आएका छौँः इन्द्र बानियाँ

गढी । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले राजनीतिमा कमजोरहरूले जातीय कुरा उठाउने गरेको आरोप लगाएका छन् ।

मकवानपुरको गढी गाउँपालिकामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले कांग्रेसले जात र धर्मका नाममा कमजोर राजनीति नगर्ने बताए । उनले कम्युनिस्टलाई प्रश्न गर्दै भने, ‘कुरा गर्ने कम्युनिस्टको, गरिवको, सर्वहारा वर्गको, अनि आफू शक्तिमा आउन सिद्धान्त छोडेर जातीलाई समात्ने ?’

उनले भनेका छन्, ‘जसले जातीलाई समात्छ, हामीले के बुझ्नुपर्छ भने कमजोर सिद्धान्त, कमजोर आत्माबल भएको मान्छेले मात्रै जातीय बलको आधारमा राजनीति गर्छ ।’

सभापति बानियाँले भने, ‘कांग्रेसले सबै जातीलाई सबै भाषाभाषीलाई मिलाएर हिँडेको छ । त्यो पार्टी कांग्रेसले किन जातजातीको कुरा गर्छ ? कहिल्यै जातीय राजनीति गर्दैन ।’

‘वीपी कोइरालाले आफू बाहुनको छोरा भएर धनमानसिंह परियारलाई साथमा लिएर हिँड्नुभयो । देवासिंह राई, हर्कबहादुर गुरुङ, भीमबहादुर तामाङलाई लिएर हिँडेको छ’, बानियाँले भनेका छन् ।

‘त्यस्ता जातीलाई सन्तुलन गरेर आजभन्दा ७० वर्ष अगाडि सबै जातीलाई एउटा बाहुनको छोराले यो मुलुक भनेको सबै जाती, सबै भाषा, सबै धर्म, सबै संस्कृति मान्नेको देश हो भनेर सँगै लिएर हिँडेका छौँ’, उनले भने, ‘कांग्रेसले सबै जातजाती, धर्म र संस्कृतिलाई समान रुपमा हेर्छ ।’

‘हामीले किन जातीय कुरा गर्ने ? किन छुवाछुतको कुरा गर्ने ? बाहुनको छोरो र दलितको छोरो एक साथ मिलेर २००७ सालदेखि सँगै क्रान्ति गरेर आएको इतिहाँस छ’, बानियाँले भने, ‘कांग्रेसले जातीय कुरा, छुवाछुतको कुराको अन्त्यको लागि राजनीति गरेको हो ।’

‘अहिले पनि कुनै पार्टीमा आफूले अवसर लिनको लागि, आफू अगाडि बढ्नको लागि आफ्नो क्षमता देखाएर साथीभाईको सेवा गरेर, जनताको सेवा गरेर आउनुपर्छ’, उनले भने, ‘जनताको बीचमा पार्टीले दिएको टिकटमा चुनाव जितेर आउने हो ।’

‘पार्टीभित्र धेरैको विश्वास जितेर टिकट लिने हो । अहिले पार्टीमा जातीय समावेशी, समावेशी प्रतिनिधित्व र सामूहिक नेतृत्व भन्नेछ’, नेता बानियाँले भनेका छन्, ‘कांग्रेसले नै समावेशितालाई अगाडि ल्याएको हो ।’

कांग्रेसको विधानमा समावेशिताको कुरा उल्लेख रहेको उनले बताएका छन् । जातीय कुरा गरेर भ्रम सिर्जना गर्न खोज्नेहरूबाट सचेत हुनुपर्ने बानियाँले बताएका छन् । पार्टी सभापतिमा उम्मेदवार बन्नेले कहिल्यै पनि जातीय कुरा गर्न नहुने बताएका छन् ।

नेता बानियाँले कांग्रेसमाथि बारम्बार प्रहारहरू भएको भन्दै राजा, राणा र माओवादीले पनि दुःख दिएको बताए । उनले राजासँग लागेर राप्रपाका अध्यक्ष कमल थापाहरूले पनि कांग्रेसलाई दुःख दिएको बताए ।

सोही कार्यक्रममा नेता बानियाँले विभिन्न दल परित्याग गरेका १९७ जनालाई कांग्रेसमा प्रवेश गराएका थिए ।

Published : Sunday, 2021 August 22, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया