खतिवडाद्वारा एमाले–माओवादीका युवाहरूलाई कांग्रेसमा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमाले र माओवादी केन्द्रका युवाहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ नेपाली कांग्रेस गाउँ कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खतिवडाले आठ जना युवाहरूलाई कांग्रेसमा स्वागत गरेका हुुन् ।

कांग्रेस प्रवेश गर्नेमा अशोक सेङ्तान, पदम तामाङ, शंकर बिक, सोनाम तामाङ, गोपाल तामाङ, खिमराज तामाङ, कुमार तामाङ र चन्द्र तामाङ रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेसका युवा नेता खतिवडाले माधव नेपालले नै एमाले परित्याग गरिसकेको बताउँदै नेता कार्यकर्ताले पनि एमाले छाड्ने बताए ।

कांग्रेसभित्र टुटफुट र गुट नभई एकजुट भएर जाने हो भने ओखलढुंगामा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने खतिवडाले बताए ।

पार्टीको १४औँ महाधिवेशनलाई लक्षित गर्दै नेता खतिवडाले सक्षम नेताहरू छान्नका लागि एकजुट भएर लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले ओखलढुंगामा अन्य जिल्लाको जस्तो कृयाशील सदस्यताको विवाद नरहेको बताए ।

निर्धारित समयमा हुने अधिवेशनका लागि तयारी रहन नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।

Published : Saturday, 2021 August 21, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया