कम्युनिस्टले देशलाई कोल्टे फेर्ने बनाउँछौँ भन्थे, उत्तानो पारे छाडे : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले दुईतिहाइको कम्युनिस्टहरू असफल भएपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको बताएका छन् ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ नेपाली कांग्रेस गाउँ कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ५ वर्षभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेर शेरबहादुर देउवा र पशुपतिनाथलाई समेत थाहा नरहेको बताए ।

‘दुईतिहाइको सरकार गएर कांग्रेसको नेतृत्वमा सरकार आउँछ भनेर शेरबहादुर देउवालाई थाहा थिएन । पशुपतिनाथलाई पनि थाहा थिएन’, उनले भने, ‘कम्युनिस्ट असफल भएका कारण नेतृत्व आएको छ । कांग्रेसले वुद्धि पुर्‍याएर काम गर्नुपर्छ ।’

‘निर्वाचनका बेला नेकपाले जित्यो भने देशले कोल्टे फेर्छ भनेर प्रचार गरियो । नेकपाले जितेको साढे तीन वर्षमा नेकपाले देश उत्तानो परेर लड्ने अवस्थामा सिर्जना भयो’, उनले भने ।

‘नेकपामा योगदान गरेकाहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । ओलीले गुटलाई संरक्षण गरेका कारण ओली सरकार पतनको बाटोमा गयो । कांग्रेसले यसबाट पाठ सिक्नुपर्छ’, उनले भने, ‘राम्रो काम गर्नेलाई अवसर दिनुपर्छ । हामीमा पनि गणेश प्रवृत्ति छ । मेरो विरोधीले राम्रो काम गरेको छ भने त्यसलाई ठाउँ दिनुपर्छ ।’

खतिवडाले भने, ‘कांग्रेसको बिकल्पमा अरु राजनीतिक दलहरू देखिन छाडेका छन् । अब कांग्रेसभन्दा अरुले गर्न सक्दैन भन्ने भएको छ ।’

यसैबीच, एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा नेता खतिवडाले वीपीलाई भन्दा पनि राम्रो अवस्था केपी ओलीजीलाई काम गर्ने अवसर हुँदा पनि काम गर्न नसकेर बालुवाटार छाडेर बालकोटको बार्दलीमा पुगेको बताए ।

‘साढे तीन वर्षमा एक दिन पनि नेपाल बन्द भएन । सडक बन्द भएन । कांग्रेसले काम गर्न कहिल्यै अवरोध गरेन । ओलीजी बदनाम मान्छेलाई साथ दिएर जानुभयो’, उनले भने, ‘वडा सदस्य हारेकालाई सांसद बनाउनु भयो । मेयर हारेकालाई प्रदेश प्रमुख बनाउनु भयो । सम्पत्तिका पार्टनरवाला साथीहरू र दाताहरूलाई काखी च्याप्नुभयो ।’

कांग्रेस नेता खतिवडाले नेकपा र एमाले फुटाएको भनेर शेरबहादुर देउवालाई एमालेले लगाएको आरोपको खण्डन गर्दै भने, ‘केपी ओलीले नै पार्टी फुटाएको हो । शेरबहादुर देउवाले फुटाएको होइन । दुईतिहाइको सरकारबाट बालुवाटार निस्किएर बालकोटको बार्दलीमा पुग्नुभयो ।’

‘ओलीले माधव र झलनाथहरूलाई दलबिहीन बनाइदिनुभयो । संसद पुनर्स्थापनादेखि प्रधानमन्त्री बनाउँदासम्म माधव नेपाल, झलनाथ खनालजीहरू शीतल निवासदेखि सर्वोच्च अदालतसम्म जानुभयो । महन्थ ठाकुरलाई पनि । बहुदलीय ब्यवस्थामा स्पेस दिइएको हो’, उनले भने, ‘दल विभाजनको अध्यादेश ल्याएर शेरबहादुर देउवाज्यूले यो मुलुकमा संविधान र गणतन्त्र ल्याउन लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका नेताहरूलाई दल बिहीन बन्नबाट रोक्नुभएको छ ।’

खतिवडाले कांग्रेस र कांग्रेसका नेताहरू त्यागी रहेको भन्द स्व.भीमबहादुर तामाङको दुःख र त्यगको स्मरण गरे । उनले भने, ‘भीमबहादुर तामाङ जेल जाँदा श्रीमती पोइल जानुभयो । चुनावमा भोट हाल्न जाँदा पूर्वपत्नीलाई दुःख पाएको देखेपछि आर्थिक सहयोग गरेर आउनुभयो ।’
खतिवडाले भने, ‘कांग्रेसका शीर्ष नेताहरूको आलोचना गर्दा ठूलो हुँ भन्ने अवस्था छ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको योगदान पार्टीमा कम छैन ।’

‘देउवाको पालामा गाउँबाट पासपोर्ट दिन व्यवस्था भयो । देउवाले नै महिला आयोग, दलित आयोग गठन गर्नुभयो । यो के उहाँले नराम्रो काम गर्नुभएको हो ? पार्टीभित्र समावेशी ल्याउने काम देउवाको पालामा भएको हो । देउवाको बोली बुझिदैन’, उनले भने, ‘ओली संसदमा कुर्लीरहनुभएको हामीले देखेका छौँ । चाहे बार्दलीमा कुर्लिदा होस् । चाहे संसदमा कुर्लिदा होस् । ओलीजी खोप सारा मैले व्यवस्था गरेको थिएँ । लगाउने बेला मैले ल्यादिएको थिएँ भनेर बोल्लान् भन्नुभयो । ओलीको बोलेको हो कि बाटोमा हिँड्ने मान्छे हो भने छुट्याउन सकिन ।’

खतिवडाले भने, ‘उहाँकै पालामा होइन १४ लाख डोजको खोप भारतबाट ल्याएको ? अहिलेसम्म दोस्रो डोज नपाएर भौतारिनु परेको छ ।’ कांग्रेस सरकारमा आउनेवित्तिकै खोपको व्यवस्था गरेको बताए ।

‘खोपको व्यवस्था गरेका छौँ । १६ हजार वटा केन्द्र खोप बनाएका छौं । सरकार गठन गरेको एक महिनाभित्रै खोप ल्याएका छौँ’, उनले भने, ‘सातै प्रदेशमा मेडिकल कलेज राख्ने निर्णय गरेका छौँ । के त्यो देउवाले अपराध गरेका हुन् ।’

‘संविधान बनायौँ । संविधान नमान्नेलाई संविधान मान्ने बनायौँ । जंगलमा रहेकालाई शान्तिपूर्ण राजनीतिमा ल्यायौँ’, खतिवडाले भनेका छन् । ‘शपथ लिने क्रममा ईश्वरको नाममा नलिने । अर्को दिन पशुपतिनाथको मन्दिरमा गएर सुनको जपल लगाउने निर्णय कसले गरेको हो ? शपथमा ईश्वरको नाम नलिने राम मन्दिरको उद्घाटन गर्ने ? भोटका लागि रामको नाम लिने ? यो काम हामीले गर्‍यौँ ?’, खतिवडाले ओलीलाई नाङ्गेझार बनाउँदै भनेका छन् ।

‘हामीले दुइटा काम गर्दैनौँ । एउटा बोल्ने र अर्को काम गर्ने हामीबाट हुँदैन । जे गर्छौं त्यही बोल्छौँ । बोल्छौँ त्यही गर्छौं । कांग्रेसको नेतृत्वमाथि राष्ट्रियतामाथि घात हुँदैन । जनजीविकाको सवालमा अन्तरघात हुँदैन । युवामाथि प्रहार हुँदैन । देशको शिर कमजोर हुने काम हुँदैन । हामी हारेर देशलाई बचाएका छौँ । जित्नेको गति देख्नुभएन ? बोलेर केही हुँदैन । खै स्वर्गजाने भर्‍याङ, पानीजहाज, रेल खोइ ?’, खतिवडाले ओलीलाई प्रश्न गर्दै खुइल्याइदिएका छन् ।

Published : Saturday, 2021 August 21, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया