डा.नुतनको टिमद्वारा ८१ वर्षीया महिलाको दुरबिनबाट शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया वृद्धा महिला विद्यादेवी भट्टराईको दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया भएको छ ।

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा.नुतन शर्मासहितको टिमले बिहीवार बिराटनगरकी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रिया मार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् ।

बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरबिन प्रविधिबाट शल्यक्रिया सम्भव हुँदैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्, ‘नर्भिक हस्पिटलमा दुवै उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दुरबिनबाट शल्यक्रिया गरिसकेका छौँ ।’

यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मासहितको टिमले दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो ।

पेट चिरेर गरिनेभन्दा दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ ।

वृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएकी महिलाको दुरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिए पनि नर्भिक अस्पतालका दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको अस्पतालले जनाएको छ ।

ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किन सक्ने डा. शर्माले बताइन् ।

शल्यक्रियापछि बिरामीको अवस्थामा सामान्य रहेको र शनिबार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

Published : Friday, 2021 August 20, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया