दल खोले पनि अस्तित्व रक्षा गर्न कठिन छः राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले महन्थ ठाकुर समूहलाई वैकल्पिक शक्ति निर्माणको पथबाट विचलित भएको आरोप लगाएका छन् ।

बिहीबार अन्तर्वार्ताका क्रममा नेता यादवले जसपा लोकतान्त्रिक गठन गर्ने नेताहरू वैकल्पिक शक्ति निर्माणबाट विचलित भएको बताएका हुन् । उनले नयाँ दल खोले पनि त्यसको अस्तित्व रक्षा गर्न सजिलो नभएको बताएका छन् ।

‘दल विभाजन किमार्थ राम्रो होइन । यो दुर्भाग्यपूर्ण स्थिति हो’, उनले भने, ‘त्यसले मूलशक्तिलाई केही न केही क्षति पुग्छ नै ।’

नेता यादवले भने, ‘वैकल्पिक शक्ति निर्माण गरेर प्रगति र समृद्धिको पथमा शोषण र उत्पीडन र गरिबीको दुष्चक्रबाट मुलुकलाई मुक्त गर्ने अभिभारा लिएका साथीहरूले एक वर्षमै विभाजन गरेका छन् । यो निकै दुःखद छ ।’

‘जसपा जेका लागि बनेको हो, जसरी जानुपर्ने थियो, त्यसमा अड्न नसकेकाले या सँगै हिँड्न नसकेर छुट्टिएको अवस्था हो’, नेता यादवले भनेका छन् ।

पूर्वमन्त्री समेत रहेका यादवले राजनीतिक दल पात्रभन्दा पनि विचार र सिद्धान्तले चल्ने भएकाले खासै फरक नपर्ने बताएका छन् ।

‘राजनीति भनेको भीडतन्त्र होइन, होहल्ला मात्र पनि होइन’, जसपाका नेता यादवले भने, ‘दलका निश्चित उद्देश्य र कार्यक्रम हुन्छन् ।’

उनले भने, ‘मधेशका जनता सचेत भएकाले कुन दल ठीक हो ? कुन बेठीक हो ? वैकल्पिक शक्ति निर्माणको आधारशीला, ल्याकत, भिजन कोसँग छ ? त्यस कै आधारमा आशा, भरोसा र विश्वास तय हुने हो ।’

नेता यादवले जसपा लोकतान्त्रिकलाई राष्ट्रिय राजनीतिमा स्थापित हुन कठिन हुने बताएका छन् ।

‘कुनै व्यक्तिसँग रिस उठेर वा कुरा नमिलेर दल गठन गर्नुहुन्छ भने जनताले कसरी लिन्छन् ?’, नेता यादवले प्रश्न गर्दै भने, ‘२०७० को आम निर्वाचनमा ३१ दल थिए । २०७४ मा ५ वटा मात्र राष्ट्रिय दल बने ।’

सरकारमा जाने बाटो खुले पनि मन्त्रालय र मन्त्रीको संख्या थाहा नभएको यादवले बताएका छन् । उनले सरकारमा जाने मन्त्रीहरूका विषयमा पार्टीमा छलफल हुने बताएका छन् ।

Published : Thursday, 2021 August 19, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया