कांग्रेस नेता थकालीद्वारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको घुमाउरो भाषामा विरोध गरेका छन् ।

नेता थकालीले मंगलबार सामाजिक सञ्जालमार्फत राजनीतिक लाभ र हानीका लागि अध्यादेशको सहारा लिने प्ररम्पराको विरोध गरेका हुन् । उनले राजनीतिक स्थायित्वका लागि संवैधानिक व्यवस्था गरिएको बताएका छन् ।

‘संविधान सभा सदस्यको नाताले म किटानीका साथ भन्न सक्दछु कि संविधान सभाले लामो समय र विश्लेषण गरेर सार्वभौम संसदको स्थायित्व, राजनैतिक दल र सांसदप्रति जनताको अटूट सम्मान र विश्वास कायम राख्न सविधानमा राजनैतिक दल सम्बन्धी संवैधानिक व्यवस्था गरेको हो’, उनले भनेका छन् ।

‘यस्तो महत्वपूर्ण धाराहरू राजनैतिक लाभ र हानीको प्रयोजनार्थ अध्यादेशको सहाराले छेडछाड गरिनु किमार्थ हुँदैन’, कांग्रेस नेता थकालीले भनेका छन् ।

सरकारले सांसद वा केन्द्रीय कार्यसमितिमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न मिल्ने गरेर अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

अध्यादेशप्रति विरोध र समर्थनहरू भइरहेका बेला कांग्रेस नेता थकालीले पनि घुमाउरो भाषामा अध्यादेशको विरोध गरेका छन् ।

Published : Tuesday, 2021 August 17, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया