मलेसियामा २४ वटा शव, गृह मन्त्रीसँग सेल्टर हाउस र नियमित उडानको माग

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति, मलेसियामा नेपाली कामदारको २४ वटा शव अलपत्र परेको भन्दै स्वदेश लगेर परिवारजनलाई उपलब्ध गराइदिन माग गरेको छ ।

समितिका सभापति चोलाकान्त पंगेनीले गृहमन्त्री बालकृष्ण खाणलाई मंगलबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पत्र पठाएर नेपालीहरूका २४ वटा शव नेपाल ल्याउने व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।

सभापति पंगेनीको तर्फबाट कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेले गृहमन्त्री खाणलाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरिएको सो पत्र गृहमन्त्री खाणलाई कार्यान्वनका लागि बोधार्थ दिइएको छ ।

‘कोभिड–१९ को महामारीबाट नेपाल लगायत विश्वका सबै मुलुकहरू आक्रान्त रहेका छन् । नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियामा पनि कोरोना दिन प्रतिदिन फैलिरहेको छ’, पत्रमा भनिएको छ ।

‘कोरोनाका कारण मलेसियाका थुप्रै कम्पनीहरू बन्द भैसकेका छन् । केही कम्पनी बन्द हुने क्रममा छन्’, सभापति पंगेनीद्वारा पठाइएको पत्रमा भनिएको छ, ‘कोरोनाको समस्याले नेपालीहरूले रोजगारी गुमाइरहेको अवस्थाले पीडामाथि झन् पीडा थपिरहेको छ ।’

सभापति पंगेनीले भनेका छन्, ‘करार अवधि सकेर पनि घरफर्कनको लागि हवाइसेवा नियमित नभएकाले हवाइ भाडा अत्यन्तै महँगो पर्न गएको हुँदा नियमित हवाइ सेवा सञ्चालनको लागि पहल गर्न नेपाली जनसम्पर्क समिति मलेसियाको तर्फबाट ध्यानाकर्षण गराउँदछौँ ।’

‘हवाइ सेवा सञ्चालन नहुँदा मलेसियामा मंगलबारसम्म २४ वटा शवहरू अलपत्र अवस्थामा रहेका छन्’, सभापति पंगेनीले भनेका छन् ।

‘परिवारले शव खोजीरहेका छन्’, पत्रमा भनिएको छ, ‘मलेसियामा आउने न्यारोवडी जहाजले शव स्वदेश लैजान नसक्ने हुनाले कम्तीमा मलेसियामा महिनामा दुई पटकसम्म वाइडबडी जहाज पठाउने व्यवस्था मिलाइदिनहुन अनुरोध छ ।’

‘मलेसियामा करीव ३ लाख नेपाली श्रमिक रहेका छन् । उनीहरूलाई विभिन्न कारणले बेलाबेलामा समस्या आउने गर्दछ’, पंगेनीको पत्रमा भनिएको छ ।

‘उनीहरूले कतै पनि सेल्टर पाउन सकेका छैनन्’, जनसम्पर्क समिति मलेसियाले भनेको छ, ‘मलेसियामा श्रमिकलाई आफ्नै सेल्टर हाउस भएको खण्डमा उनीहरूलाई कानूनी न्यायपाउनुको साथै सेल्टरमा बसेर सेवा लिन सक्ने थिए ।’

पत्रमा भनिएको छ, ‘अलपत्र, अंगभङ्ग, बेखर्ची, बिरामीको लागि ठूलो राहत मिल्ने थियो । यसका विषयमा पनि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ ।’

विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेले मलेसियाको जनसम्पर्क समितिको माग कार्यान्वयनका विषयमा विभागका प्रमुख गोविन्द भट्टराईसहित विभागले विशेष पहल लिने बताए । उनले भने, ‘जनसम्पर्क समितिका मागलाई नेपाली कांग्रेस नेतृत्वको सरकारसँग समन्वय गरेर अगाडि बढ्ने छौँ । सरकारलाई सल्लाह र सुझाव दिने छौँ ।’

Published : Tuesday, 2021 August 17, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया