कांग्रेसलाई भोट दिएका एमाले सांसद श्रेष्ठको घरमा नेपालसहितका नेताको भेला

काठमाडौं । पार्टी विभाजनको हल्ला चलिरहेको बेला एमालेका सांसद किसान श्रेष्ठले आफू निकटका सांसदहरूसँग परामर्श गरेका छन् ।

सांसद श्रेष्ठले भक्तपुरस्थित आफ्नो निवासमा एमालेका करीव १०÷१५ जना सांसदसँग मंगलबार परामर्श गरेका हुन् । स्रोतका अनुसार सांसद श्रेष्ठको छलफलमा केही ढिला गरेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।

सांसद श्रेष्ठसहित २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । सांसद श्रेष्ठ पहिला एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहमा थिए ।

उनले देउवालाई विश्वासको मत दिएर नेपाल समूहतिर आफ्नो कित्ता क्लियर बनाएका छन् । एमालेका सांसद श्रेष्ठले तनहुँमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई हराएका थिए ।

Published : Tuesday, 2021 August 17, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया