लैनचौरमा ७५औँ स्वतन्त्रता दिवस यसरी मनाइयो

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासभित्र भएको भारतको ७५औँ स्वतन्त्रता दिवस विशेष कार्यक्रम गरेर मनाइएको छ ।

आइतबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको राष्ट्रिय झण्डात्तोलन गरेर उदघाटन गरेका थिए ।

स्वतन्त्रता दिवस आजादीका अमृत महोत्वसको रुपमा मनाइएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको सबै क्षेत्रहरूमा भारतीयहरूद्वारा प्राप्त उपलब्धिहरूलाई सम्झिन भारतले दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरूमा विभिन्न क्षेत्रहरूमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो ।

राजदूत क्वात्राले विधवा र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकका आफन्तलाई नेरु ४.४५ करोड र प्रत्येक परिवारलाई कम्वल वितरण गरेर सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका शिक्षक र विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नेपालको सांस्कृतिक विरासतस्थलको संरक्षणका लागि कला र संस्कृतिक विरासतको लागि भारतीय राष्ट्रिय ट्रष्टको वेबसाइटलाई समेत राजदूत क्वात्राले उद्घाटन गरेका छन् ।

भारतले नेपालमा भूकम्पबाट क्षति भएका नेपालका सम्पादा संरक्षण र पुनर्स्थापनाका लागि ५० मिलियन अमेरिकी डलर सहायता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 August 15, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया