माओवादीको कर्मचारी संगठनमा आरसीले पाए महासचिवको जिम्मेवारी

काठमाडौं । माओवादी केन्द्रको पेशागत संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आरसी मनोनीत भएका छन् ।

संगठनको विश्वविद्यालय राष्ट्रिय समितिको साउन २४ गतेको भर्चुअल बैठकद्वारा संगठनको रिक्त रहेको महासचिव पदमा सोलुखुम्बुका आरसीलाई मनोनीत गर्ने निर्णय भएको हो ।

उप–महासचिवमा प्रकाश सापकोटा र सचिव पदमा तुलसीदिवस महतरालाई जिम्मेवारी दिइएको संगठनका अध्यक्ष दीपक तिवारीले जानकारी दिएका छन् ।

विश्वविद्यालयभित्रका कर्मचारीको पेशागत समस्या समाधान, सांगठानिक गतिशीलता, सामूहिकता र संगठन विस्तारमा जोड दिदै सबै विश्वविद्यालयका कर्मचारीहरूको भरलाग्दो पेशागत संगठनका रुपमा यसलाई स्थापित गराउने महासचिव आरसीले बताए ।

बैठकले सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषको बारेमा बृहत् अन्तरकृयाका साथमा विज्ञ समिति निर्माण गरी विश्वविद्यालयहरू र शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

संगठनले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरूले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

बैठकले निश्चित सेवा अवधी पुगेका तर बढुवाको लागि बिज्ञापन नभएर वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरूका लागि तत्काल तहगत बढुवाको आवेदन खुलाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीहरूको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धि पक्षसँग माग राखिने निर्णय भएको उप–महासचिव सापकोटाले बताए ।

Published : Sunday, 2021 August 8, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया