अर्थमन्त्री बराल र डीआईजीद्वारा दंगा नियन्त्रण प्रहरी गण तनहुँको भ्रमण, सहयोग गर्ने आश्वासन

बेलचौतारा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाल प्रहरीको ‘गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण’ बेलचौतारा, तनहुँको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

मन्त्री बरालले शनिबार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारमा रहेको गणको अवलोकन गर्नुका साथै प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी लिएका हुन् । अर्थमन्त्री बरालसँग गण्डकी प्रदेशका प्रमुख (डीआईजी) दिवेश लोहनीको पनि उपस्थिति रहेको थियो । मन्त्री बराल र डीआईजी लोहनी गणको कार्यालयमा झण्डै चार घण्टा बसेर प्रहरीका सस्याका विषयमा जानकारी लिएका हुन् ।

मन्त्री बराल र डीआईजी लोहनीलाई गणका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले दंगा नियन्त्रण प्रहरी गणको कामकारबाही, कर्तव्य र प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी गराएका थिए । एसपी ज्ञवालीले गणमा भौतिक संरचनाको अभावमा प्रहरी कर्मचारीलाई बस्न समस्या रहेको मन्त्री बराल र डीआईजी लोहनीलाई जानकारी गराएका थिए ।

‘हाम्रो गणले गरेको कामकारबाहीका विषयमा अर्थमन्त्री रामजीप्रसाद बराल र गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीज्यूलाई सबै कुराको जानकारी गरायौँ’, एसपी ज्ञवालीले भने, ‘भौतिक संरचनाका विषयमा जानकारी गरायौँ ।’

गण्डकी प्रदेशका अर्थमन्त्री बरालले दंगा नियन्त्रण प्रहरी गण तनहुँलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । बरालले साधन स्रोतका अभावका बाबजुद प्रहरीले गरेको कामको प्रशंसा गरेका छन् । उनले विपत व्यवस्थापनदेखि शान्ति सुरक्षा कायम गर्न प्रहरीले ठूलो योगदान दिएको बताए ।

गण्डकी प्रदेशका प्रमुख (डीआईजी) लोहनीले पनि दंगा नियन्त्रण प्रहरी गणको कामको उच्च मूल्यांकन र प्रशंसा गरेका थिए । उनले आगामी दिनमा आफ्नो जिम्मेवारीलाई झन् दायित्व बोधका साथ निभाउन निर्देशन दिएको गणका प्रमुख ज्ञवालीले जानकारी दिए ।

दंगा नियन्त्रण प्रहरी गण, बेलचौतारा, तनहुँमा शुरुमा ४०–५० जना प्रहरी थिए । करीव ४५० दरबन्दी रहेको गणमा १२० जना कार्यरत छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख (डीआईजी) लोहनीको परामर्शमा विभिन्न जिल्लामा छरिएर रहेका प्रहरी ल्याउन पहल गरेका छन् । गण्डकी प्रदेशमा ठूला दंगा, विपत्ती हुँदा गणबाट प्रहरी खटिएर काम फत्ते गर्छन् ।

केही दिन अगाडि गण्डकी प्रदेशका प्रमुख (डीआईजी) लोहनी गणमा आएर प्रहरी कर्मचारीहरूको विषयमा जानकारी लिनुका साथै आफूबाट सहयोगको प्रतिवद्धता जनाएका थिए ।

डीआईजी लोहनीले गण्डकी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै प्रहरी कर्मचारीका समस्याका विषयमा स्थलमै पुगेर लिन थालेका छन् ।

Published : Sunday, 2021 August 8, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया