कोरोना रोकथाममा गृहमन्त्री खाण आफै सक्रिय, मास्क लगाउन अनुरोध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कोरोना महामारीको संक्रमण बढ्दो क्रममा रहेको भन्दै रोकथाम र उपचारका लागि तयारी गर्न दिर्नेशन दिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा खाणले विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई कोरोना रोकथामका लागि निर्देशन दिएका हुन् ।

गृह सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलगायत गृह मातहतका निकायका अधिकारीसँगको छलफलमा खाणले चुनौतीपूर्ण अवस्था आउन सक्ने बताए ।

‘अघिल्लो लहरको कोरोनामा अस्पतालहरूमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हुँदैन’, उनले भने, ‘त्यसैले समय हुँदा नै सबै निकाय पूर्व तयारीमा रहनुपर्छ ।’

गृहमन्त्री खाणले मास्कको प्रयोग पर्याप्त नभएको भन्दै त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन आग्रह गरेका छन् ।

‘भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ’, खाणले भने, ‘मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ ।’

उनले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदैशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने खाणले बताएका छन् ।

विदेशबाट आउने नागरिकका लागि सबै नाकामा पीसीआर परीक्षण गर्न निर्देशन दिँदै गृहमन्त्री खाणले त्यसका लागि गुणस्तरीय सामग्रीको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

Published : Friday, 2021 August 6, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया