कांग्रेसको खेलकुद विभागका सचिव महर्जन अस्पताल भर्ना, नेताहरूद्वारा स्वास्थ्य लाभको कामना

लगनखेल । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।

महर्जनलाई बुधबार अचानक ज्वरो आएपछि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । महर्जनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । चिकित्सकहरूले शुक्रबार चेकजाँच गरेर डिस्चार्जको तयारी गरेका छन् ।

सचिव महर्जनलाई १०३ डिग्रीको ज्वरो आएको चिकित्सकहरूले जनाएका छन् । महर्जनलाई भाइरल ज्वरो आएको चेकजाँचका क्रममा देखिएको अस्पतालले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले महर्जनलाई अस्पतालमा भेटेर स्वास्थ्यका विषयमा जानकारी लिएका छन् ।

बस्नेत खेलकुद विभागका प्रमुख पनि हुन् । आफ्नै विभागका सचिव महर्जन अस्पताल भर्ना भएपछि स्वास्थ्य अवस्थाको जानकारी लिन आएको जनाइएको छ ।

कांग्रेसका युवा नेता एवम् पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाली कांग्रेसका नेता रामकृष्ण लामा ‘इन्द्र’सहितका नेताहरूले महर्जनलाई अस्पतालमा भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

कांग्रेसका नेता प्रकाशमान सिंह र शेखर कोइरालाले पनि नेता महर्जनलाई टेलिफोन गरेर स्वास्थ्यका विषयमा जानकारी लिएका छन् ।

Published : Thursday, 2021 August 5, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया