गगनले देवी ज्ञवाली र ओलीलाई यसरी दिए जवाफ, बालकोट चुपचाप

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २/३ दिनभित्र सरकारले पूर्णता पाउने उनले बताएका छन् ।

कांग्रेस अहाधिवेशन सार्न नहुने उनले बताएका छन् । ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि भए पनि पर सार्नुहुँदैन’, उनले भने, ‘तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ ।’

नेता थापाले भनेका छन्, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ ।’

‘प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ’, उनले भनेका छन् । उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताएका छन् ।

गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको कांग्रेस नेता थापाले बताएका छन् ।

‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’, उनले भने, ‘सुकुम्बासी समस्या हाम्रो पनि हो, जति छिटो यो समस्या हल गर्नुपर्छ ।’

आयोगका अध्यक्षमा एमालेका नेता एवम् भरतपुर महानगरपालिकाको मेयरमा पराजित देवी ज्ञवाली थिए । ज्ञवालीलाई ओलीले राज्यमन्त्री सरहको सुविधा दिएर अध्यक्षमा नियुक्त गरेका थिए । ज्ञवालीले एक वर्षमा २२ करोड भ्याएका थिए ।

Published : Wednesday, 2021 August 4, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया