ओलीले जस्तो अहिलेको सरकारले जनताको हुर्मत लिँदैन, सहयोग गर्छः कांग्रेस नेतृ देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट जनताले अपेक्षाहरू गरेको बताएकी छिन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै देवकोटाले विपक्षी गठबन्धनको समर्थनमा बनेको सरकारले विगतको केपी ओली सरकारले गरेको जस्तो गल्ती नगर्ने बताइन् ।

कांग्रेसकी प्रमुख सचेतक देवकोटाले विगतमा ओली सरकारले जनताको हुर्मत लिने कार्य गरेको स्मरण गरिन् । अहिलेको सरकारले जनताको अपेक्षाको पूरा गर्ने उनले बताएकी छिन् ।

उनले कोरोनाको संक्रमण तिब्र रुपमा बढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रणका सबै संयन्त्र प्रयोग गर्न आग्रह गरेकी छिन् । तेस्रो चरणको कोरोना महामारी शुरु भइसकेको उनले बताइन् ।

जाजरकोट जिल्लामा वडाध्यक्ष रामबहादुर नेपालीले सेवाग्राहीलाई निर्घात कुटपिट गरेको भन्दै त्यस्ता जनप्रतिनिधिलाई कारबाहीको माग गरेकी छिन् । उनले जुन दलको जनप्रतिनिधि भए पनि अमानवीय कार्य गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

नागरिकलाई कोरोनाविरुद्धको खोपको सुनिश्चिता गर्नुपर्ने भन्दै कम आय भएका र विपन्न परिवारलाई आर्थिक प्याकेज ल्याउन प्रमुख सचेतक देवकोटाले माग गरेकी छिन् ।

तुइनको घटनाको विरोध गर्दै भारतसँग कुटनैतिक रुपमा सम्वाद गर्न आग्रह गरेकी छिन् । उनले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेकी छिन् ।

Published : Wednesday, 2021 August 4, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया