कांग्रेस नेता थकालीद्वारा बेनी–जोमसोमको अबरोध हटाउ आग्रह, महानिर्देशक थापा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले बेनी–जोमसोम सडक खण्डको काभ्रे भिरको अबरोध हटाएर सडक अवागमन सुचारु गराउन सडक विभागसँग आग्रह गरेका छन् ।

पूर्वमन्त्री थकालीले बुधबार विभागका महानिर्देशक ई.अर्जुनजंग थापालाई टेलिफोन गरेर बेनी–जोमसोम सडकको कालोपत्रे र जोमसोम–कोरला सडक खण्डको ग्रावेलसहित फराकिलो बनाउने काम पनि छिटो सम्पन्न गर्न आग्रह गरेका हुन् ।

कांग्रेस नेता थकालीको आग्रहपछि ई.थापाले म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामा पर्ने काभ्रेको भिरको अबरोध हटाएर सडक सञ्चालन गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

‘सडक विभागका ई.अर्जुनजंग थापाज्यूसँग फोनमा कुराकानी भयो । उहाँसँग काभ्रे भिरको पहिरो हटाएर सडक सुचारु गर्न भनेको छु’, टेलिफोनमा भएको सम्वादका विषयमा जानकारी दिँदै पूर्वमन्त्री थकालीले भने, ‘सडक खोल्ने भन्नुभएको छ । उहाँहरूले मेरो कुरा सकारत्मक लिनुभएको छ । काम छिटो अगाडि बढाउने आश्वासन दिनुभएको छ ।’

काभ्रे भन्ने स्थानमा पहिरो जाँदा दुई महिनादेखि यातायात सञ्चालन हुन सकेको छैन । यातायात सञ्चालन हुन नसक्दा मुस्ताङ जोड्ने यो सडकका कारण हजारौँ यात्रुले सास्ती ब्यहोर्नु परेको छ । बेनी–जोमसोम–कोरला सडक खण्डलाई लिएर कांग्रेस नेता थकालीले निकै चासो र चिन्ता राख्दै आएका छन् ।

काभ्रेको भिरमा पहिरो गएको स्थानमा व्यक्तिको निजी जमीन पर्छ । सो जमीनलाई मुआब्जा दिएर भए पनि सडक छिटो विस्तार गर्नुपर्ने पूर्वमन्त्री थकालीको सुझाव छ ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले काभ्रे भिरको पहिरोका समस्या अन्त्य गर्न सो स्थानमा सुरुङ माग बनाउन सडक विभागलाई सुझाव पनि दिएका छन् ।

२०७७ साल मंसिर १२ गते बेनी–जोमसोम सडक खण्ड कालोपत्रे सम्पन्न गरेर ठेकेदार कम्पनीले बुझाउनुपर्ने थियो । तर, अहिलेसम्म काम सम्पन्न भएको छैन ।

जोमसोम–कोरला सडकलाई फराकिलो बनाएर ग्रावेल गर्ने टेण्डर ठेकेदार कम्पनीले लिएको छ । ठेकेदार कम्पनीले ५० प्रतिशत मात्रै काम सम्पन्न गर्न सकेको छ ।

पूर्वमन्त्री थकालीको विशेष पहलमा यो सडकको योजना परेको थियो । नेपाल सरकारले यो सडक खण्डमा ९ अर्ब ७५ करोड बजेट विनियोजन गरेर २०७३ सालमा टेण्डर भएको थियो ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको काम २०७४ सालदेखि शुरु भएको हो । बेनी–जोमसोम चार खण्ड र जोमसोम–कोरला सात खण्डमा काम शुरु गरिएको छ ।

Published : Wednesday, 2021 August 4, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया