बैठकबाट भागेका पोखरेलको मुख्यमन्त्री पद यसरी फुत्किने भयो, बालकोटमा रुवाबासी

बुटवल । लुम्बिनी प्रदेशका अल्पमतमा रहेका कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

विपक्षी गठबन्धनले मंगलबार पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि पोखरेललाई ठूलो तनाब भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि पोखरेलले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग मंगलबार नै परामर्श गरेका छन् । आफूले विश्वास गरेको र एमालेको भावी अध्यक्षका रुपमा लिइएका पोखरेलको मुख्यमन्त्रीको पद फुत्किने भएपछि बालकोटमा रुवाबासी भएको चर्चा छ । ओलीले चाहेर पनि यस पटक पोखरेलको मुख्यमन्त्री पद बचाउन सक्ने छैनन् ।

मुख्यमन्त्री पद खान पोखरेलले हदैसम्मको कीर्ते काण्ड गरेको आरोप विपक्षी गठबन्धनको छ । पोखरेलले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जति पनि नैतिकता देखाउन नसकेको भनेर आलोचना भइरहेको छ ।

कीर्ते गरेर मुख्यमन्त्री पद कब्जा गरेको आरोप लागेका पोखरेलले बजेट पास गराउन नसकेर लुम्बिनी प्रदेश सभाबाट भागेका थिए । प्रदेश सभा अन्त्य गरेर अर्को दिन अध्यादेशबाट बजेट ल्याएर पोखरेलले निरिहता प्रदर्शन गरेका थिए । त्यसपछि पोखरेल प्रदेश सभाको बैठकबाट भागेको भागै छन् ।

प्रदेशसभाका ३४ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि पोखरेल तनाबमा परेका छन् ।

लुम्बिनी प्रदेशसभामा हाल ८० सांसद कायम छन् । बहुमतका लागि कम्तीमा ४१ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा एमालेको पक्षमा विमला खत्रीसहित ३९ सांसद छन् । माओवादीमा रहेकी खत्रीलाई पोखरेलले फकाएर एमालेमा ल्याउँदा पनि मुख्यमन्त्री पद बच्नेवाला छैन ।

विपक्षी गठबन्धनले पनि विमला खत्रीलाई आफूतिर गणना गरेको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित १९ सांसद छन् । नेकपाबाट उपनिर्वाचनमार्फत विजयी भएकी सांसद विमला खत्रीपनि सामेल छिन् ।

एमालेलाई साथ दिएको अवस्थामा माओवादी केन्द्रमा सभामुखसहित १८ सांसदमात्र रहनेछन् । कांग्रेसका १९ सांसद छन् । जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

प्रदेशसभामा विपक्षी गठबन्धनका पक्षमा ४२ सांसद देखिए पनि विमला खत्रीले एमालेलाई साथ दिएको अवस्थामा यो गठबन्धनसँग सभामुखसहित ४१ सांसद रहन्छन् ।

Published : Tuesday, 2021 August 3, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया