रेग्मीले पाए अध्यक्षको जिम्मेवारी, ओली समर्थक भण्डारी–खनालको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारले आयोगका दुई सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्याय गरेको छ ।

सरकारले यसियाली विकास बैंकद्वारा रेस्पोन्सिभ कोभिड–१९ भ्याक्सिन भर रिकोभरी प्रोजेक्टका लागि दिएको १६५ मिलियन अमेरिकी डलर सौलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

वैशाख १६ देखि निषेधाज्ञाभरको व्यक्तिगत घटना दर्ता विलम्ब छुट दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

सरकारले विभुषण समितिमा भुषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनराज श्रेष्ठ, कुशप्रशाद मुल्मी, ओमप्रकाश महतो, नरबहादुर कँडेललाई मनोनयन गरेको छ ।

सरकारले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

भण्डारी र खनाललाई तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले नियुक्त गरेका थिए । ओलीको प्रधानमन्त्री पद फुत्किनेवित्तिकै खनाल र भण्डारीले राजीनामा दिएका थिए ।

Published : Tuesday, 2021 August 3, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया