दार्चुला प्रकरणमा गृहमन्त्री गम्भीर, प्रतिवेदन आउनेवित्तिकै उचित कदम उठाउने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले महाकाली नदी पार गर्न राखिएको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा खाणले सरकारले अहिले सत्यतथ्यमा आधारित प्रतिवेदन पर्खिरहेको बताएका हुन् ।

उनले भने, ‘नागरिकको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व हो । नागरिकको जीवन रक्षामा हामी गम्भीर छौं ।’

‘बेपत्ताको छानबिन प्रतिवेदन पनि आएको छैन’, खाणले भने, ‘प्रतिवेदन आएपछि छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि अन्तिम निष्कर्ष निस्किनेछ । तथ्य र सत्य पत्ता लगाएर प्रतिवेदन बनेपछि जे तथ्य हो त्यो सार्वजनिक गरिनेछ ।’

‘त्यसमा पूर्ण अडान राखिनेछ’, उनले भने, ‘सत्य र तथ्यका आधारमा सरकार जुनसुकै कदम चाल्न पनि सरकार तयार छ ।’

छानबिन समितिले घटनाको स्थलगत निरीक्षण गर्ने र अनुसन्धान गर्ने खाणले जानकारी दिएका छन् ।

जयसिंह धामीसँगै तुइन तर्नेहरू र तर्न नसकेकाहरूसँग पनि समितिले सोधपुछ गर्ने र त्यसका आधारमा नै प्रतिवेदन तयार पार्ने उनले बताएका छन् ।

साउन १५ गते भएको घटनाको छानबिन गर्नका लागि गृहमन्त्रिस्तरीय निर्णयबाट खाणले छानविन समिति गठन गरेका थिए । समितिले आफ्नो काम शुरु गरिसकेको छ ।

समितिको संयोजकमा गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम रहेका छन् ।

Published : Tuesday, 2021 August 3, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया