डीआईजी राणासहित ६१ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृतसहित ६१ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकारको साउन १४ गतेको मन्त्रिस्तरीय निर्णयानुसार पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

दर्ज्यानी चिन्ह पाउनेमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरूङ र नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरू रहेका छन् ।

महानिरीक्षक क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाइ तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गर्न निर्देशन दिएका छन् ।

नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड–१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा उनले बताए ।

प्रहरी महानिरीक्षक क्षेत्रीले पदोन्नतिको अवसरसम्म पुर्‍याउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट वधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

समारोहमा प्रहरी नायव महानिरीक्षक सौरभ राणाले पदोन्नतिले हर्ष र गौरव महसुस भएको बताए ।

Published : Sunday, 2021 August 1, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया